शिक्षण अस्पताललाई काठमाडौँ महानगरबाट अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान

माघ १८ , काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महाराज गञ्ज स्थित  त्रि. वि. शिक्षण अस्पताललाई अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान गरेको छ ।  महानगरका मेयर विद्यासुन्दर शाक्य तथा उप-मेयर हरि प्रभा श्रेष्ठ खड्गीले अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. सुवासप्रसाद आचार्यलाई मेसिन खरिद गर्दाको रकम बराबरको चेक प्रदान गर्नुभएको हो । 

 मेयर शाक्यले सामुदायिक अस्पतालको प्राविधिक क्षमता विकास गरेर र उपचारका लागि विरामीमा विश्वाश बढाएर निजी स्वास्थ्य संस्थाभन्दा अब्बल बन्नुपर्ने धारणा राख्नु भयो  । 

त्यस क्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले  काठमाडौँ महानगर अन्य पालिकाको पनि अभिभावक भएको बताउदै  महानगरबासीसँगै देशबासी सबैमा सेवाको क्षमता पुग्ने गरी सहयोग गरेका  बताउनु भयो ।

सिटी स्क्यान मेसिन खरिद गर्न महानगर र अस्पतालविच २०७७ मंसिर ३० गते सम्झौता भएको थियो । सम्झौताअनुसार अत्याधुनिक सीटी क्यान मेसिन खरिदका लागि महानगरले उपलब्ध गराएको आर्थिक अनुदानबाट अस्पतालले मेसिन खरिद गरेर पुस ११ गते जडान सम्पन्न गरेको हो । फ्लास टेक्नोलोजीमा आधारित मेसिन १ सय २८ स्लाइसको छ । स्पेसिफिकेसनका आधारमा सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट खरिद गरिएको मेसिनको मूल्य ६ करोड १७ लाख १६ हजार ५५७ रुपैयाँ परेको छ । सम्झौतामा वेला यसको लागत करीव ७ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा. डा. दिव्यासिंह शाहकाअनुसार आधुनिक चिकित्सा विज्ञानमा सीटी स्क्यान नभइ नहुने हतियार हो । ‘दुर्घटना परेका व्यक्ति, मस्तिष्कघात भएका व्यक्तिको परीक्षणका लागि यो मेसिन नभइ हुँदै हुँदैन ।’ शाहले, विगत २ बर्षदेखि सीटी स्क्यानविहिन भएको अस्पताललाई काठमाडाँै महानगरले सहयोग ग¥यो । यो सहयोग अतुलनीय छ ।’

अस्पतालकाअनुसार अत्याधुनिक यो मेसिनले व्यक्तिको समस्यालाइए स्वचालित रुपमा पहिचान गरेर रिपोर्ट दिन्छ ।

Loading...