नेपाल र मौरिसस बीचको पहिलो खेल आज, रंगशालामा दर्शकलाई अनुमति

काठमाडौं, १५ माघ । नेपाली राष्ट्रिय फुटबल टिम र मोरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । नेपाल र मोरिसस बीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ ।

नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल खेल्न लागेको हो । कप्तान किरण चेम्जोङले पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्न लागेकाले यो फरक अनुभव हुने र सिक्ने मौकाको रुपमा लिने शुक्रबारको प्रि–म्याच कन्फ्रेन्समा बताएका थिए ।

यस्तै प्रशिक्षक किरण श्रेष्ठले नेपाल र मोरिसस उस्तै स्तरको टिम रहेको र यसअघिका गल्ती सुधार गर्दै राम्रो प्रदर्शन गरिने बताएका छन् ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले दुई मैत्रीपूर्ण खेलका लागि दुई फरक टोलीको घोषणा गरिसकेका छन् । उनले बन्द प्रशिक्षणमा रहेका सबै ३४ खेलाडीलाई नै दुई टिममा मौका दिँदा नयाँ ९ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

प्रशिक्षक किरण श्रेष्ठले एसियन कप छनोटको तेस्रो चरणको तयारी स्वरुप यो खेल रहेकाले धेरै खेलाडीलाई अवसर दिन लागेको बताए ।

शुक्रबार प्रि–म्याचमा उपस्थित नभएका प्रशिक्षक अलमुताइरीले शनिबार बिहानै जित र हार खेलको पाटो रहेकाले फाइटिङ स्प्रिट मुख्य कुरा रहेको सामाजिक सञ्जालमा लेखेका छन् । उनले साफ च्याम्पियनपछि नेपालले पहिलो पटक खेल्न लागेकाले सबैलाई समर्थनका लागि आग्रह समेत गरेका छन् ।

अलमुताइरीले युवा खेलाडीलाई एक्पोजर दिने योजना रहेको र त्यो अनुभव भविष्यका काम लाग्ने विश्वास राखेका छन् । पहिलो खेलका लागि घोषित टोलीमा ४ नयाँ खेलाडी छन् ।

मोरिससका मुख्य प्रशिक्षक टोनी फ्रानइसले नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेको बताए । ‘हामी साढे दुई वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्दैछौँ । यसका लागि डिसेम्बरदेखि यता हामीले ४५ दिन मात्र प्रशिक्षण गरेका छौँ । नेपाल विरुद्ध खेल्न सहज छैन ।’

यस्तै मोरिससका कप्तान केभिन ओब्रायनले नेपाल राम्रो टिम रहेको र राम्रो खेलको अपेक्षा राखेको बताए ।

फिफा वरीयतामा मोरिससभन्दा नेपाल अघि छ । नेपाल १६९औं स्थान र मोरिसस १७२ औं स्थानमा छ ।

यस्तै नेपाल र मोरिससबीचको खेलमा दशरथ रंगशालको कूल क्षमताको एक तिहाइ दर्शकलाई नेपाल सरकारको कोभिड–१९ प्रोटोकल अनुसार प्रवेश अनुमति दिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइने जनाएको छ ।

खेल हेर्नका लागि सामान्य प्यारापीटतर्फ ५ सय र भीआईपीतर्फ १ हजारको टिकट दर राखेको छ ।

Loading...