लता मंगेशकरको स्वास्थ्यमा केही सुधार, अझै आईसीयूमै राख्नुपर्ने

काठमाडौं, १३ माघ । वरिष्ठ भारतीय गायिका लता मंगेशकरको स्वास्थ्य अवस्थामा केही सुधार आएको छ । बिहीबार लता मंगेशकरको अफिसियल ट्वीटर ह्याण्डलमार्फत उनको स्वास्थ्य अवस्थाबारे पछिल्लो जानकारी गराइएको छ ।

कोरोना संक्रमण भएपछि करिब १५ दिनदेखि उनको मुम्बईको ब्रीच क्याण्डी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । बिहीबार बिहान केहीबेर भेन्टिलेटर हटाएर ट्रायल गर्दा स्वास्थ्यमा सुधारको संकेत देखिएको जनाइएको छ ।

तर ९२ वर्षीया लताको उमेरका कारण पनि स्वास्थ्यमा पूर्ण सुधार आउन केही समय लाग्ने भएकाले अझै केही दिन आईसीयूमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुले परिवारलाई जानकारी गराएका छन् ।

लताको परिवारले उनको स्वास्थ्य स्थितिलाई लिएर कुनै पनि अफवाह नफैलाउन समेत आग्रह गरेको छ । ट्वीटमा प्रशंसक र शुभचिन्तकहरुले गरिरहेको लताको स्वास्थलाभको कामनाप्रति धन्यवाद व्यक्त गरिएको छ ।

लतालाई कोरोना संक्रमणपछि निमोनिया भएको थियो ।

Loading...