काठमाडौं, १३ माघ । ‘फूलबुट्टे सारी’ बोलको गीत हिट भएपछि केन्द्र मोसन पिक्चर्सले अभिनेता पल शाह र अभिनेत्री मलिका महतसँग नयाँ खालको सम्झौता गर्यो ।
सम्झौता अनुसार पल र मलिकाले केन्द्र मोसनभन्दा बाहिरको भिडियोमा एकसाथ काम गर्न नपाउने भन्ने थियो । यसपछि पल र मलिकाले केन्द्र मोसनकै भिडियोमा मात्र काम गरे ।
अब भने यी दुईलाई लिएर अन्य मेकरले पनि भिडियो बनाउन सक्ने भएका छन् । पल र मलिकालाई एकसाथ लिएर केन्द्रले मात्र भिडियो बनाउने सम्झौता सकिएको छ ।
बुझिएअनुसार पल र मलिकाले एकसाथ बाहिरी कम्पनीको भिडियोमा काम गर्दा भने केन्द्रमा लिइरहेको पारिश्रमिकभन्दा केही बढी पारिश्रमिक लिने गरेका छन् । हालै यो जोडीले निर्देशक निकेश खड्काको निर्देशनमा बनेको नयाँ म्युजिक भिडियोमा काम गरिसकेको छ ।
नेपाली म्युजिक भिडियो बजारमा पछिल्लो समय सर्वाधिक चलेको जोडीको रुपमा पल र मलिकालाई लिइन्छ । उनीहरुले काम गरेका ‘टाढा भएपनि’, ‘आँखैमा आउने सपनी’ लगायतका भिडियो सुपरहिट भएका छन् ।