नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले एक महिनाअघि सम्पन्न १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रारम्भिक विवरण सार्वजनिक गर्दै महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको जनाएको छ ।

प्रारम्भिक विवरण अनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम या जम्मा ०.९३ प्रतिशत पुगेको छ । अघिल्लो जनगणनामा नेपालमा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेको थियो। तथ्यांक विभागका अनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको छ । अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । प्रदेशगतरुपमा मधेश प्रदेशको जनसङ्ख्या सबैभन्दा बढी छ भने कर्णाली प्रदेशको कम देखिएको छ। जिल्लागत रूपमा राजधानी काठमाडौँमा सबैभन्दा बढी प्रति वर्ग किमीमा ५,१०८ जना बसोबास गर्ने गरेको र मनाङमा एक वर्ग किमीमा जम्मा ३ जना बसोबास गरेको देखिएको छ । नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको हो । २०६८ को जनगणनामा दुई करोड ६४ लाख ९४ हजार ५०४ जनसंख्या रहेको थियो ।

यस्तो छ केन्द्रीय तथ्यांक विभागले जारी गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक

नेपालको जनसंख्या र जनसंख्या वृद्धिदर

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २,९१,९२,४८० जना पुगेको छ, जुन दश वर्षअघि (२०६८ साल) को जनसंख्या २,६४,९४,५०४ को तुलनामा २६,९७,९७६ ले बढी देखिन्छ ।

दश वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशत बढेको देखिन्छ ।

विगत दश वर्षको सरदर बार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत देखिन्छ । वि.सं. २०५८ देखि २०६८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेको थियो ।

जनगणना घर र परिवार संख्या

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा जम्मा ५६,४३,९४५ वटा जनगणना घरहरु रहेका छन् ।

उक्त जनगणना घरहरुमा बसोवास गर्ने परिवार संख्या ६७,६१,०५९ छ ।

२०७८ मा जनगणना घर र परिवारको अनुपात १:१.२० रहेको देखिन्छ अर्थात् प्रत्येक १०० वटा जनगणना घरमा औसतमा १२० परिवारहरू बसोबास गर्दछन् ।

२०६८ को जनगणनामा घर र परिवारको अनुपात १:१.१८ थियो ।दश वर्षअघिको परिवार सङ्ख्या ५४,२७,३०२ रहेकोमा यस अवधिमा जम्मा १३,३३,५३१ (२४.५७ प्रतिशत) परिवार थप भएको देखिन्छ ।

परिवारको आकार

प्रदेशगत आधारमा परिवारमा औसत सदस्य सङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा कम (३.६६ जना) र मधेश प्रदेशमा सबैभन्दा बढी (५.१५ जना) रहेको छन् जुन २०६८ सालमा क्रमशः ४.१६ र ५.८० जना रहेको थियो जिल्ला अनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा प्रति परिवार औसत ३.४१ जना सदस्य रहेका छन् भने रौतहट, बारा, कपिलवस्तुमा औसत परिवार ५.५० जनाभन्दा बढी देखिन्छन् ।

गत दश वर्षमा प्रतिपरिवार सदस्य सङ्ख्यामा कमी आएको देखिन्छ । २०७८ मा प्रति परिवार ४.३२ जना सदस्य रहेको देखिन्छ जुन २०६८ मा ४.८८ थियो ।

शहरी क्षेत्रको परिवारमा सालाखाला ४.२५ जना रहेका छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेका देखिन्छ जुन दश वर्षअघि क्रमशः ४.३२ जना र ५.०२ जना थियो ।

भौगोलिक क्षेत्रअनुसार हेर्दा हिमाली क्षेत्रमा सालाखाला ४.२७, पहाडमा ३.९५ र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेको देखिन्छ ।

परिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्ने) जनसंख्या

जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जम्मा २१,६९,४७८ व्यक्तिहरु नेपालको परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा बसोवास गरेका देखिन्छन् जसमध्ये १७,६३,३१५ पुरूष (८१.२८ प्रतिशत) र ४,०६,१०३ महिला (१८.७२ प्रतिशत) रहेका छन् ।

दश वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोवास गर्नेहरू) सङ्ख्या १९,२१,४९४ थियो, जसमध्ये पुरूष १६,८४,०२९ (८७.६४ प्रतिशत) र महिला २,३७,४०० (१२.३६ प्रतिशत) थिए ।

२०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको देखिन्छ ।

भौगोलिक क्षेत्रअनुसार विदेश अनुपस्थित जनसंख्याको विश्लेषण गर्दा तराईबाट १०,६५,९६९, पहाडबाट ९,८४,८९६ र हिमालबाट १,१८,६१३ रहेका देखिन्छन् ।

भौगोलिक क्षेत्र अनुसार जनसंख्या वितरण

भौगोलिक क्षेत्रअनुसार जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश विगत २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ ।

२०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ ।

हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८ मा केही कम भई ६.०९ प्रतिशत रहेको देखिन्छ ।

पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत रहेकोमा हाल (२०७८ मा) ४०.२५ प्रतिशतमा झरेको छ ।

प्रदेश अनुसार जनसंख्या वितरण

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा २०.९९ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.८१ प्रतिशत रहेको छ ।

बागमती प्रदेशमा दोस्रो ठूलो जनसंख्या (२०.८४ प्रतिशत) रहेको छ जुन गत २०६८ को जनगणनामा २०.८७ प्रतिशत थियो ।

२०७८ मा जनसंख्याको आकारको हिसाबले तेश्रो, चौथो, पाँचौ र छैठौं क्रमशः लुम्बिनी, प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेश रहेका छन् ।

गत जनगणनाको तुलनामा मधेश प्रदेश र लुम्बिनी प्रदेश बाहेक सबै प्रदेशको कुल जनसंख्यामा हिस्सा घटेको देखिन्छ ।

प्रदेश अनुसार जनसंख्या वृद्धिदर र परिवर्तन

गत दश वर्षको अवधिमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १३.८९ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा ३.१६ प्रतिशतले जनसंख्या थप भएको छ ।

मधेश प्रदेश र लुम्बिनी प्रदेशमा राष्ट्रिय औसत भन्दा बढीले, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय औसत भन्दा कम र बाग्मती प्रदेश र प्रदेश १ मा राष्ट्रिय औसतको हाराहारीमा जनसंख्या थप भएको देखिन्छ ।

प्रदेशगत रुपमा २०६८ देखि २०७८ को एक दशकको वार्षिक जनसंख्या वृद्धिदर र जनसंख्या परिवर्तन हेर्दा ७ वटा प्रदेशहरूमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत र सबै भन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशतले वार्षिक जनसंख्या वृद्धि भएको देखिन्छ ।

दोस्रो धेरै वार्षिक जनसंख्या बृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२० प्रतिशत छ । अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १.०० प्रतिशत भन्दा कम नै रहेको देखिन्छ ।

ग्रामीण÷शहरी जनसंख्या वितरण

नेपाल सरकारबाट घोषित २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी क्षेत्रको जनसंख्या र सो बाहेकको ४६० गाउँपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानी ग्रामीण तथा शहरी जनसंख्याको तालिकीकरण गरिएको छ ।

२०७८ सालको जनगणनामा शहरी जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ भने ग्रामिण जनसंख्या ३३.९२ प्रतिशत पुगेको छ ।

२०६८ सालको जनगणनाको समयमा ५८ वटा मात्र नगरपालिका रहेकोले सोही अनुसार शहरी जनसंख्याको विश्लेषण गरिएको थियो । जसअनुसार राष्ट्रिय जनगणना २०६८ मा १७.०७ प्रतिशत शहरी जनसंख्या र ८२.९३ प्रतिशत ग्रामिण जनसंख्या रहेकोमा संघीय संरचनापछि स्थानीय तहलाई शहरी र ग्रामीण क्षेत्र अनुसार वर्गिकरण गरी २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा शहरी जनसंख्या ६३.१९ प्रतिशत र ग्रामिण जनसंख्या ३६.८१ प्रतिशत पुगेको थियो ।

जिल्लाअनुसार जनसंख्या र लैंगिक अनुपात

नेपालका ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्लामा २०,१७,५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५,६४५ जनाको अक्सर बसोवास रहेको छ ।

मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्लाहरू हुन् ।

कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन् ।

जिल्ला अनुसार हेर्दा सबैभन्दा बढी लैंगिक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैंगिक अनुपात प्यूठान जिल्लाको ८२ छ ।

जिल्ला अनुसार जनसंख्याको वार्षिक वृद्धिदर र परिवर्तन

जिल्लागत रूपमा जनसंख्या वृद्धिदरको विश्लेषण गर्दा अधिकांश हिमाली र पहाडी जिल्लाहरूको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिन्छ भने तराईका सबै जिल्लाहरुको जनसंख्या वृद्धिदर धनात्मक देखिन्छ ।

जिल्लागत वार्षिक जनसंख्या वृद्धिदरलाई हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ जुन गत २०६८ को जनगणना अनुसार २७ वटा जिल्लामा ऋणात्मक देखिएको थियो ।

सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुर जिल्लामा (३.३२ प्रशित) र सबैभन्दा कम रामेछाम जिल्लामा (—१.६५ प्रतिशत) रहेको छ ।

सवैभन्दा कम जनसंख्या बृद्धि हुने अन्य ४ जिल्लामा खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम जिल्ला रहेका छन् भने सबैभन्दा धेरै जनसंख्या बृद्धिदर भएका अन्य ४ जिल्लामा रुपन्देही, चितवन, बाँके र सुनसरी जिल्ला रहेका छन् । हिमाली जिल्लाहरूमध्ये मुगु जिल्लामा सबैभन्दा बढी (१.८० प्रतिशत) वार्षिक जनसंख्या बृद्धिदर देखिन्छ ।

स्थानीय तह अनुसारको जनसंख्या वितरण (गाउँपालिका)

गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँके जिल्लाको बैजनाथ, राप्तीसोनारी र खजुरा, रुपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी हुन् ।

सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङ जिल्लाको नार्पा भूमी, मुस्ताङ्ग जिल्लाको लो–घेकर दामोदरकुण्ड, मनाङ जिल्लाको मनाङ ङिस्याङ र नासोँ गाउँपालिका पर्दछन् ।

सबैभन्दा धेरै जनसख्या बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा ७०,३१५ र सबैभन्दा कम जनसंख्या भएको मनाङ जिल्लाको नार्फाभूमि गाउँपालिकामा ४४२ रहेको छ ।

१० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ भने ५० हजार भन्दा बढी जनसख्या हुने गाउँपालिकाको संख्या १५ वटा रहेको छ ।

स्थानीय तह अनुसारको जनसंख्या वितरण (नगरपालिका)

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र विरगञ्ज महानगरपालिका हुन् ।

सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा डोल्पा जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभा जिल्लाको मादी, तेह्रथुम जिल्लाको लालिगुराँस र दोलखा जिल्लाको जिरी नगरपालिका पर्दछन् ।

सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा ८,६५,९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १०,१८७ जनसंख्या रहेको छ ।

२० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने १ लाख भन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ ।

जनघनत्व

२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको जनघनत्व १९८ जना पुगेको छ, जुन २०६८ सालमा १८० मात्र थियो ।

भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ को प्रारम्भिक नतिजा अनुसार पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६१ प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर रहेको छ ।

२०६८ सालमा पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३९२ प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर रहेको थियो

प्रदेशहरु मध्ये मधेश प्रदेशमा सबैभन्दा बढी ६३६ जना प्रति वर्ग कि.मि.मा बसोवास गरेको देखिन्छ जुन २०६८ मा ५६१ रहेको थियो ।

हाल सबैभन्दा कम कर्णाली प्रदेशमा ६१ जना प्रति वर्ग कि.मि. मा बसोवास गरेको देखिन्छ ।

दोस्रो र तेस्रो धेरै जनघनत्व भएका प्रदेशमा बागमती र लुम्बिनी प्रदेश रहेका छन् ।

जिल्लागत रूपमा जनघनत्व

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै ५,१०८ जना प्रति वर्ग किलोमिटर र मनाङ जिल्लामा सबैभन्दा कम ३ जना प्रतिवर्ग किलोमिटर जनघनत्व रहेको छ ।

जनघनत्वको आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्लाहरू हुन् ।

मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा १० भन्दा कम जनघनत्व रहेको छ ।

तराईमा सबैभन्दा कम जनघनन्व भएको जिल्लामा उदयपुर (१६६) र पहाडमा रुकुम पूर्व (३५) पर्दछन् ।