काठमाडौं, ११ माघ । नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारले १० अर्ब ४७ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराएको छ ।
२१ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले जानपान सरकारले दिने उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको थियो । मंगलबार अर्थसचिव मधुकुमार मरासिनीले उक्त रकम बराबरको सहुलियतपूर्ण नीतिगत ऋण सहायता सम्बन्धी आदान प्रदान प्रत्रमा हस्ताक्षर गरेका छन् । जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।
जापानी दूतावासले विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको छ । कोभिड १९ बाट प्रभावित भएको नेपालको अर्थतन्त्रलाई माथि उकास्न सहयोग महत्वपूर्ण सावित हुने विश्वास जापानले लिएको छ ।
जापान सरकार नेपाललाई सबै प्रकारको सहायताका लागि प्रतिवद्ध रहेको समेत दूतावासले उल्लेख गरेको छ ।