शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण ः सहिद सप्ताहका कार्यक्रम सुरु

२०१२ सालदेखि निरन्तर महानगरको संयोजकत्वमा सहिद सप्ताह मूल समारोह समिति

माघ १०,काठमाडौं । सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौंको टेकु मचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा पुगेर काठमाडौँ महानगरका मेयर एवं सहिद सप्ताह मुल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गर्नुभएको हो । कोविड महामारीका कारण यस बर्ष औपचारिक रुपमा सभा आयोजना गरिएन । मन्तव्य राखिएन । संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै सीमित पदाधिकारी उपस्थित भएर शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको हो । यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो ।

पुष्पगुच्छा अर्पणपछि सहिद सप्ताहका कार्यक्रमका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै मुल समारोहका संयोजक मेयर शाक्यले, यस बर्ष सहिद सप्ताहका कार्यक्रममा केही परिवर्तन गरिएको जानकारी दिनुभयो । ‘अहिले कोविड संक्रमणको दर बढ्ने क्रममा छ । यसकारण हामी सीमित व्यक्तिहरुको उपस्थितिमा सप्ताहव्यापी कार्यक्रम गर्नेछौँ ।’

पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने सहिदको योगदानलाई प्रतिकुल परिस्थिति छ भनेर विर्सन मिल्दैन । त्यसैले कार्यक्रमको स्वरुप परिवर्तन गरेर सप्ताहव्यापी कार्यक्रमलाई निरन्तरता दिइएको मेयर शाक्यको भनाइ छ ।

त्यस क्रममा उपमेयर खड्गी श्रेष्ठले, व्यक्तिगत लाभभन्दा नागरिकको स्वतन्त्रता र मानव अधिकारको पक्षलाई ठूलो मानेर प्राणको आहुति दिने सहिदहरुको सम्मान अन्य कुनै कारण नरोकिने प्रतिक्रिया दिनुभयो ।

शुक्रराजको जन्म वि. सं. १९५० सालमा बनासरमा भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरु गर्नुभएका शास्त्रीले इलाहवादकै आर्य समाज बिद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गर्नुभएको थियो । त्यस क्रममा उहाँले पटना, दार्जिलिङ्, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीविच नागरिक अधिकारका बिषयमा संगठन गर्न थालिसक्नु भएको थियो । त्यसपछि नेपाल फर्कनु भएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गर्नुभएको थियो । यस समितिको सदस्यमा गंगालाल श्रेष्ठ पनि हुनुहुन्थ्यो ।

धार्मिक गतिबिधिबाट जहानियाँ शाशनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरुलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गर्नुभएको थियो । राणाको बिरोध गरेको यही आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो । १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । यसरी जेल सजाय भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र धर्मभक्त माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो । त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानेर प्राण दण्ड दिइएको थियो ।

महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका ४ सहिदहरुको पूर्ण कदको शालिक उहाँहरुले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ । २०७५ सालमा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएको हो भने धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको २०७६ सालको श्रद्धाञ्जली सभामा स्थापना गरिएको हो ।

सहिद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाको शालिकमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरिनेछ ।

यस बर्ष प्रभात फेरी हुनेछैन । माघ १६ गते विहान ९ बजे लैनचौरको सहिद स्मारक ज्ञात अज्ञात सहिदको सम्झनामा संक्षिप्त स्मृति कार्यक्रम आयोजना हुनेछ । त्यस अवसरमा प्रधानमन्त्रीसहित केही उच्च पदस्थ अधिकारी मात्र उपस्थित हुनुहुनेछ । सम्मान गारदका लागि नेपाली सेनाको सानो टुकडी मात्र हुनेछ । त्यसै दिन मध्यान्न १२ बजे टुँडिखेलमा तोपको सलामी अर्पण गरिनेछ ।

 

Loading...