आमा बन्दै अभिनेत्री काजल अग्रवाल

काठमाडौ, ९ माघ । बलिउड तथा दक्षिण भारतकी चर्चित अभिनेत्री काजल अग्रवाल आमा बन्ने भएकी छन्।

उनका श्रीमान गौतम किच्लुले सन् २०२२ को नयाँ वर्षका दिन इन्स्टाग्राममा यसबारे जानकारी दिएका थिए।

पेसाले व्यवसायी गौतमले काजलको फोटो राख्दै क्याप्सनमा गर्भवतीको इमोजी राखेर आफूहरू आमाबुवा बन्न लागेको खबर दिएका थिए।

काजलले हालै सामाजिक सञ्जालमा ुप्यारेन्टल क्लासु लिएका तस्बिर पनि राखेकी छन्।

सुन्दर अभिनेत्रीका रूपमा धेरै प्रशंसकले मनपराउने काजललाई बधाइ दिनेको ओइरो छ।

उनीहरू बिहे सन् २०२० अक्टोबरमा भएको थियो।

कोरोना महामारीका कारण उनीहरूको बिहेमा परिवार र निकट आफन्त तथा साथीहरूको मात्र उपस्थिति थियो।

सन् २००४ हिन्दी फिल्म ‘क्युँ हो गया ना…’ फिल्मबाट बलिउड प्रवेश गरेकी काजल सन् २००७ मा ‘लक्ष्मी कल्यानम्’ बाट तेलेगू फिल्म उद्योगमा प्रवेश गरेकी थिइन्।

त्यही वर्ष सार्वजनिक भएको ुचन्दामामाु बाट भने उनले आफ्नो पहिचान बनाउन सफल भइन्। तर उनको करिअरको चर्चा सन् २००९ मा आएको ‘मगधिरा’ बाट भएको हो।

रामचरणसँग जोडीका रूपमा देखिएकी काजलको यो फिल्म सबभन्दा धेरै कमाउने तेलेगू फिल्ममध्ये पर्छ।

यसपछि उनले सबैजसो चर्चित दक्षिण भारतीय अभिनेतासँग काम गरिसकेकी छन्। उनका राम्रा तेलेगू फिल्महरू ‘डार्लिङ, बिजनेसम्यान, नायक, बादशाह, टेम्पर’ लगायत हुन्।

त्यस्तै उनले थुप्रै तमिल फिल्ममा पनि काम गरेकी छ। ‘नान महान, विवेगम, जिल्ला, मेर्सल’ लगायत उनका चर्चित फिल्म हुन्।

बलिउडबाटै फिल्मी उद्योगमा प्रवेश गरे पनि बीचमा पनि दक्षिण भारतीय फिल्ममै व्यस्त भइन् र चर्चा पनि कमाइन्।

सन् २०११ मा आएर उनले अजय देवगनसँग ‘सिंघम’मा काम गरिन् र प्रशंसा बटुलिन्।

यसपछि अक्षय कुमारको मुख्य भूमिका रहेको ‘स्पेशल २६’ ले पनि निकै सफलता पायो।

सन् २०२० मा काजलको मैनको मूर्ति म्याडम टुसाड्स सिंगापुरमा राखिएको थियो। त्यहाँ यस्तो मूर्ति राखिने उनी पहिलो दक्षिण भारतीय अभिनेत्री हुन्।

Loading...