खेसरीलालको गुनासो – भोजपुरी फिल्म उद्योगले मलाई चाहँदैन

विराटनगर, ९ माघ । भारतीय भोजपुरी कलाकार खेसरीलाल यादवले भोजपुरी फिल्म उद्योगले आफूलाई नचाहेको बताएका छन् । सुनसरीको बर्जु गाउँपालिकामा आयोजित तेस्रो बर्जु महोत्सवमा भएको घटनाका बारेमा दोस्रो पटक फेसबुक लाइभमा आएका उनले भोजपुरी उद्योगले आफूलाई नचाहेको बताएका हुन् ।

माघ ४ गते सुनसरीको बर्जुमा यादव आउने कार्यक्रम थियो । तर उनी कार्यक्रममा नपुगेपछि आक्रोशित भीडले ४ वटा गाडीमा आगजनी गर्दै स्टेजमा तोडफोड गरेको थियो । यादव विराटनगरबाट फर्किएका थिए ।

भावुक हुँदै फेसबुक लाइभमा बोलेका यादवले भोजपुरी फिल्म उद्योगमा मानवता मरेको बताए । ‘व्यवसायमा हरेक आद्मीको प्रतिस्पर्धा हुन्छ, म सम्झन्छु यी कुरा’ उनले भनेका छन् ,’तर मलाई थाहा थिएन् भोजपुरी इन्ड्रष्टिजमा मानवता मरिसकेछ ।’

चारवटा गाडी जलाउँदा आफूलाई भोजपुरी फिल्म उद्योगबाट कसैको फोन कल नआएको उनले गुनासो गरे । प्रशासनले रोकेको कार्यक्रमका बारेमा आयोजकले आफूलाई जानकारी नगरेको बताउँदै उनले आफूले ठूलो क्षति भोग्नु परेको बताए ।

‘चार गाडी जल्यो, स्टेजमा तोडफोड भयो, मलाई धेरै कष्ट भयो’ उनले भने,’ इन्ड्रष्टिजसका दुई जना बाहेक अन्य कसैको फोन आएन्, न त कसैले घटनाका बारेमा प्रतिक्रिया दिए ।’

दुःखमा मजा नलिन आग्रह गर्दै उनले आफूसँगको व्यक्तिगत दुष्मनी निकालिरहेको गुनासो गरे । आफ्नो गल्ती नभएको बताउँदै उनले ज्यान जोगाएर फर्किएको बताए । जनता र प्रशासनको दोष नभएको बताउँदै उनले पून आयोजकले बदमासी गरेको बताए ।

Loading...