पुलिसलाई हराउँदै एपिएफ प्रधानमन्त्री कप टी-२० च्याम्पियन

सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।

१५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेटको क्षतिमा १३६ रन मात्र जोड्न सक्यो।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ६५ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ५४ बलमा ३ चौका र १ छक्का प्रार गरे।

खराब ओपनिङ गरेको पुलिसका ओपनरद्वय पवन सराफ गोल्डेन डकआउट हुँदा अमित श्रेष्ठ पनि ३ रनमा आउट भए।

दुवैलाई किशोर महतोले आउट गरेका थिए। त्यसपछि अनिलकुमार साह १० रन र आरिफ शेख १२ रनमा आउट हुँदा पुलिस सुरुमै संकटमा परेको थियो।

तर दीपेन्द्रले दिलीप नाथसँग ५६ रनको साझेदारी गरेपछि पुलिसको इनिङ्ग्स उकासिएको थियो। दिलीप २३ रनमा आउट भएपछि दीपेन्द्रको मात्र केही चलेन। दिलिप आउट भएपछि रासिद खान ४ रनमै आउट भएका थिए।

बलिङमा एपिएफका किशोर महतोले ३ विकेट लिए भने अभिनास बोहरा, अमरसिंह रटेउला र दीपक बोहराले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपिएफ एक बल खेल्न बाँकी छदा १५७ रनमा अलआउट भयो।

उसका लागि अमरसिंह रटेउलाले १५ बलमा २९ रन, लोकेश बमले १५ बलमा २७ रन, सन्दीप जोराले २४ रन, कप्तान शरद भेषवाकरले १९ रन र भुवन कार्कीले १७ रनको योगदान गरे।

बलिङमा पुलिसका सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले ३-३ विकेट लिए। गुल्शन झाले २ विकेट हात पारे।

Loading...