काठमाडौं, ४ माघ । अभिनेत्री केकी अधिकारीले कोरोना महामारीले आफूहरुको पुस्तालाई ठूलो क्षति पुर्याएको बताएकी छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले कोरोना महामारीबाट प्रभावित बनेको दुई वर्षको अवधिमा सबैभन्दा बढी आफ्नो पुस्ता पीडित बनेको बताइन् ।
‘मलाई कोरोनाका कारण हाम्रो जेनेरेसनलाई सबैभन्दा बढी घाटा लागेको छ जस्तो लाग्छ । किनकि, हामीपछि पनि तीनवटा जेनेरेसन आइसकेको छ,’ उनले भनिन्, ‘अब वर्षमा कतिवटा चलचित्र बन्लान् र त्यसमा हामी कति अटाउँछौं भन्ने प्रश्न छ ।’ केकीले अहिले आफू अरु चलचित्रलाई पर्खिने कि आफैं निर्माण गर्ने भन्नेमा दोधारमा रहेको बताइन् ।
केकीले भर्खरै चलचित्र ‘बोक्सीको घर’को छायांकन सकाएकी छन् । यो चलचित्र सस्पेन्स थ्रिलर जनरामा बनेको छ ।
केकीले चलचित्रमा अभिनय गरेको एक दशक भइसकेको छ । यस अवधिमा उनका केही चलचित्र मात्र हिट सावित भएका छन् ।