बतासले भाडामा लिएको धर्मशाला निरीक्षण गर्न मन्त्री आले पशुपतिमा

काठमाडौं, २ माघ । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गरेका छन् ।

भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा मन्त्री आलेले होटेल चलाएको लगायत अन्य ठाउँकोसमेत आइतबार बिहान निरीक्षण गरेका हुन्।

धर्मशाला भाडामा लिएर होटल आनन्द चलाइरहेको विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको मन्त्री आलेले बताए । सत्यतथ्य बुझेपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले जानकारी दिए।

उनले धर्मशालाका प्रत्येक कोठा पुगेर निरीक्षण गरेका छन्।

१९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर बतासले भाडामा लिएको छ ।

पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्र (तिलगंगा)मा भारत सरकारको सहयोगमा धर्मशाला बनाइएको हो।

Loading...