एमाले कैलालीको अध्यक्षमा ४ मत अन्तरले थापा विजयी

कैलाली, २७ पुस । नेकपा एमाले कैलालीको अध्यक्षमा रतनबहादुर थापा विजयी भएका छन् । थापा अध्यक्षका प्रत्यासी रणबहादुर चन्दलाई ४ मत अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

थापाले दुई सय ८७ मत पाउँदा चन्दले भने दुई सय ८३ मत प्राप्त गरेका छन् । थापा एमाले कैलालीका निवर्तमान अध्यक्ष समेत हुन् भने अर्का उम्मेदवार चन्द निवर्तमान अध्यक्ष हुन् ।उनीहरू दुवै प्यानलसहित चुनावी मैदानमा होमिएका थिए ।
उपाध्यक्षमा थापा प्यानलका दुर्गाप्रसाद जोशी सबैभन्दा बढि तीन सय २७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी चन्द प्यानलका सिताराम बुढाथोकीले दुई सय ७ मत ल्याए ।

सचिवमा भने चन्द प्यानलका डेजी पाण्डे विजयी भएका छन् । पाण्डे दुई सय ९४ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिद्वन्द्वी दानबहादुर विकले दुई सय ६० मत ल्याए । उनी पार्टीका निवर्तमान सचिव समेत हुन् ।

उपसचिवमा पनि चन्द प्यानलकै ममताप्रसाद चौधरी र लोकेन्द्र शाही विजयी भएका छन् । चौधरीले दुई सय ९० र शाहीले एक सय ९६ मत ल्याए । उपसचिव पदका उम्मेदवार थापा प्यानलका प्रेम डगौराले एक सय ७१ र मदन ओझाले एक सय ७० मत ल्याए भने स्वतन्त्र उम्मेदवार दिएका विनय शाहले एक सय ७८ मत पाएका छन् ।

अध्यक्ष लगायतका पदाधिकारीको मत गणना सकिए पनि सदस्यहरूको भने गणना गर्न बाँकी छ । निर्वाचन समितिले मंगलबार बिहान ८ बजेदेखि मत गणना शुरू गरिने जनाएको छ ।

Loading...