काठमाडौं, २६ पुस । कोरोना संक्रमण बढ्दै गएपछि विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गतेदेखि नै विद्यालयहरु बन्द हुने बताएको छ ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिएका छन् ।
यसअघि सोमबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयले विद्यार्थीलाई वैकल्पिक सिकाइसँग जोड्न मन्त्रालयले निर्देशन दिएको छ । विज्ञप्तिमा भनिएको छ ‘विदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउनू ।’
त्यस्तै विश्वविद्यालय शैक्षिक प्रतिष्ठानहरुको पूर्वनिर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । जेड आकारमा विद्यार्थीको बसाइ व्यवस्था गरी परीक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।