वर्षा सिवाकोटी भन्छिन्- प्रेम भएको भए पो ब्रेकअप हुन्छ

काठमाडौं, २६ पुस । अभिनेत्री वर्षा सिवाकोटी प्रेम सम्बन्धका कारण पनि बेलाबेलामा चर्चामा आइरहन्छिन् । पछिल्लो समय उनी कलाकार राज कटुवालसँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् । तर, अहिले उनीहरुको ‘ब्रेकअप’ भएको चर्चा चलेको छ ।

तर, अभिनेत्री वर्षा सिवाकोटीले भने राजसँग प्रेम नै नभएको दाबी गरेकी छन् । वर्षाले भनिन्, ‘कोहीसँग नजिक हुँदैमा, कसैसँग हिँड्दैमा प्रेम नै हुन्छ भनेर बुझ्नु गलत हो । मैले प्रेम कहिले स्वीकार गरेको थिएँ र ब्रेकअपको कुरा आउँछ रु’ यद्पि उनले बारम्बार प्रेममा असफल नायिका भनेर आफूलाई चित्रण भने गरेकी छन् ।

 

वर्षाले यस्तो बताएपनि गत वर्षको होलीबाट राज र वर्षाबीच प्रेम सम्बन्ध रहेको चर्चा चलेको हो । उनीहरु होलीमा एकसाथ रमाएको देखिएपछि प्रेम सम्बन्धको खबरले मिडियामा पनि राम्रै स्थान पायो । यसपछि यो जोडीले केही म्युजिक भिडियोमा पनि काम गर्‍यो । तर, प्रेम चर्चा चलेको करिब १० महिनापछि भने राज र वर्षाको सम्बन्धमा खटपट आएको खबर आइरहेका छन् ।

राजसँगको प्रेम सम्बन्ध नभएकाले ‘ब्रेकअप’को हल्लामा तुक नभएको वर्षा बताउँछिन् । बरु आफू मन मिल्ने जीवनसाथीको खोजीमा रहेको उनले बताइन् । ‘मेरो पेशालाई बुझ्ने र सम्मान गर्ने युवकको खोजीमा छु,’ उनले भनिन् ।

वर्षाले कुनै पनि विषयमा आफूसँग एक शब्द नसोधी आएका खबरहरुको पछि नलाग्न समेत आग्रह गरेकी छन् । उनले भनिन्, ‘जुन दिन मेरो बिहेको कार्ड छापिन्छ, त्यही दिन नै खबर पक्का हुन्छ । अरु, हल्लाको पछि नलाग्नुहोला ।’

Loading...