संघीय सरकार चुपचाप, आधा दर्जन बढी स्थानीय सरकारले दिए पृथ्वी जयन्तीमा बिदा

काठमाडौं, २६ पुस । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गर्दै राप्रपालगायतका दलले आग्रह गर्दै आएपनि संघीय सरकार मौन बसेको छ । हरेक वर्षको पुस २७ गते ‘राष्ट्रनिर्माता’ पृथ्वीनारायण शाहको जन्मदिनलाई पृथ्वी जयन्तीको रुपमा मनाउने गरिन्छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन आग्रह गर्दै पुस १८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पेश गरेका थिए । सो क्रममा देउवाले बिदा दिनेबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर निर्णय गर्ने आश्वासन दिएपनि अहिलेसम्म कुनै निर्णय आएको छैन । बिदा बारे मन्त्रिपरिषद् बैठक बसेर निर्णय गर्नुपर्नेमा प्रधानमन्त्री नै कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेर क्वारेन्टाइनमा बसेपछि बैठक बस्नेबारे नै अन्योल छ ।
राप्रपा नेता मोहन श्रेष्ठले बिदा दिनेबारे ज्ञापनपत्र बुझाउने बेला छलफल गरेर निष्कर्षमा पुगिने आश्वासन दिइए पनि यसबारे प्रगति भने नदेखिएको बताए ।

गणतन्त्रपछि छिटपुट रुपमा बाहेक सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएको छैन । पृथ्वी जयन्तीमा राजावादी सहितका कतिपय दलले बिदाको माग गर्दै आएपनि कतिपय जनजाति अगुवाहरुले भने बिदा दिन नहुने धारणा राख्दै आएका छन् । उनीहरुले पुस २७ गते ‘एकता दिवस’ नभइ ‘दमन दिवस’ को रुपमा समेत टिप्पणी गर्दै आएका छन् ।

यी स्थानीय सरकारले दिए बिदा
पृथ्वी जयन्तीको अवसरमा आधा दर्जन बढी स्थानीय सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । झापाको हल्दीबारी गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका, तनहुँको दुधेगौंडा नगरपालिका, ऋषिङ गाउँपालिका, स्याङ्जाको वालिङ नगरपालिका, बाराको कलैया उपमहानगरपालिका, गोरखाको गोरखा नगरपालिकाले सार्वजनिक बिदाको निर्णय गरिसकेका छन् । यस्तै राप्रपाले जितेको अन्य स्थानीय तहमा पनि बिदा दिइने बताइएको छ । राप्रपाले झापामा दुई स्थानीय तह, बाँकेमा १ र धादिङमा एक स्थानीय तहमा जित हासिल गरेको थियो ।

राप्रपाले पुस २७ गते सार्वजनिक बिदा नदिइए सो दिनमा विरोध प्रदर्शन गर्ने पनि बताएको छ । यस्तै विवेकशील साझासहितका अन्य हिन्दूवादी संघसंस्थाले पनि पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग गरेका छन् ।

Loading...