काठमाडौं, पुस २३ ।
नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काउन सुरु गरिएको छ । शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सो कफी शप भत्काएको हो ।
पुरातात्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुइटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि एक छानबिन समिति गठन भएको छ।
२०६६ सालमै नारायणहिटी परिसरमा बनेको रातो घरलाई २०७६ साल माघमा बतास समुहलाई कफीसप सञ्चालान गर्न अनुमति दिएको थियोे । समितिले सङ्ग्राहालयको १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो ।