कांग्रेसको सभापति पदमा ५१ प्रतिशत मत कुनैको नआएपछि दोस्रो चरणको मतदान आजै हुने

मङ्सिर २८, काठमाडौं । कांग्रेसको सभापति पदमा ५१ प्रतिशत कुनै पनि उमेदवारको मत नआएपछि दोस्रो चरणको मतदान आजै हुने भएको छ।

सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसके पछि पुनः दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

अन्तिम मत परिणाम अनुसार सभापति पदका उम्मेदवार प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत हासिल गरेका छन् ,भने डा. शेखर कोइरालाले १ हजार ७ सय २९ र प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ४९ र कल्याण गुरूङले २० मत प्राप्त गरेका छन् । अन्तिम मत परिणामको औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।

महाधिवेशनमा कुल ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका थियो । पहिलो र दोस्रो हुने सभापतिका उमेदवारमा बढी मत ल्याउने देउवा र कोइरालाबीच अबको दोस्रो चरणमा प्रतिस्पर्धा हुनेभएको छ ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य गरिएको छ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएको अवस्थामा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिने ब्यबस्था रहेको छ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

Loading...