भन्सार छलेर ल्याएको सात सय ५० जोर जुत्ता बरामद

बुटवल । रुपन्देही प्रहरीले १८ लाख बराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ स्थित तिनाउ पुलबाट भन्सार छलेर ल्याएको अवैध सामान (जुत्ता)सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

सैनामैना नगरपालिका–४ मुर्गिया बस्ने ३२ वर्षीय विष्णु थारुले कपिलवस्तुबाट चलाएको लु १ च ८२१३ नम्बरको बलेरो पिकअप जीप बुटवलमा चेकजाँच गर्दा २५ कार्टुन अर्थात सात सय ५० जोर जुत्ता फेला पारेको हो। बरामद सामानको मूल्य करिब १८ लाख रहेको र चालक, जीपसहित बरामद सामानलाई आवश्यक कारवाहीका लागि बेलहिया भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

यसैबीच, प्रहरीले लागूऔषसहित एकजनालाई रुपन्देहीबाट पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–७ दीपनगर बस्ने सुनिल गौचनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

गौचनको घरमा खानतलासी गर्दा प्रहरीले कोठाभित्र रहेको स्टिलको दराजमा राखिएको सेरीज्याक १३ एम्पुल, नुफिन १३ एम्पुल, फेनरागन १३ एम्पुल, सिरिन्ज १२ थान र विभिन्न किसिमका मोबाइल फोन तीन थान बरामद गरेको हो।

पक्राउ परेका गौचनमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताए।

Loading...