ब्रिटिस शोषणको अन्तहिन श्रृङ्खला

२६ फेब्रुअरी सन् १९६१ मा राजधानी काठमाडौंलाई बेहुली जस्तै सिंगारिएको थियो । मानौं, देशले केही ठूलै उत्सव मनाउँदैछ । अरु बेला नाक र कानबाट ढुङ्ग्रीमुन्द्री झिकेर बसेको उदास लिम्बूनी बज्यैजस्तो देखिने काठमाडौं शहर त्यसदिन बेहुली जस्तै थियो । यस्तो उत्सवको एउटै कारण थियो— बेलायती महारानी एलिजाबेथको नेपाल भ्रमण । राजा महेन्द्र र उनका सहयोगीहरू यतिधेरै खुशी थिए, मानौं बेलायती महारानीभन्दा उनीहरूको अर्को भगवान छैन । तत्कालीन नारायणहिटी राजदरबारदेखि त्रिभुवन विमानस्थलसम्म सडक सजाउन कुनै कसर बाँकी राखिएको थिएन । गाउँघरतिर बिहेको दिन बेहुलीलाई शहरबाट ल्याइएको फेयर एण्ड लभ्ली, गाजल, मेहन्दी दलेर सकेसम्म राम्री बनाइन्छ । कतै मागेर भएपनि सुन लगाइदिने चलन छ, तर जब बिहे सकिन्छ, बेहुलीसँग न फेयर एण्ड लभ्ली हुन्छ, न गाजल नै हुन्छ, न मेहन्दी नै । गाउँघरको बेहुली जस्तै थियो काठमाडौं र नियति पनि उस्तै ।  

नेपाल भ्रमणकै क्रममा राजा महेन्द्रले रानी एलिजाबेथलाई उच्च बन्दोबस्ती सहित चितवनको सौराहा घुमाउन लगे । लावा लस्कर सेनाका साथ हात्तीमा चढेर महेन्द्र आफैले राइफल हानेर बाघको शिकार गरे । महेन्द्रले बाघलाई बन्दुकले ताकिँरहदा महरानी एलिजाबेथले बडो रुचिपूर्वक मुस्कुराउँदै हेरिरहेकी थिएन् । यता नेपालमा महेन्द्रले महारानी एलिथाबेथलाई बाघमासु सहितको भोज दिँदै गर्दा उता हजारौं गोरखा सैनिकहरू बेलायतको लागि लड्न इण्डोनेशिया जाँदै थिए । विभिन्न युद्धपछि खाली खुट्टा घर फर्काइएका घाइते गोरखा सैनिकका घाउमा औषधी होइन, झिँगा भन्किरहेका थिए । नेपाल र बेलायती शासकबीच यस्तो भोज आदनप्रदान भएको आगामी सन् २०१६ मा दुईसय वर्ष पुरा हुँदैछ । सन् १८१६ मा नेपाल र अंग्रेजबीच भएको सुगौली सन्धिपछि गोरखाहरूले यही नियति खेप्दै आएका छन् । ठीक अहिले पनि उस्तै तयारी भइरहेको छ । बिग्रेड अफ गोरखाजले गोरखा भर्तीको द्विशतवार्षिकी मनाउन भव्य तयारी गरिरहेको छ । यता नेपाल सरकारले पनि शुभकामना पठाइसकेको छ, तर गोरखाली माथिको विभेद भने उस्तै छ ।  

गोरखा भर्तीको कथा 

सन् १८१६ मा नेपाल र अंग्रेजबीच भएको सुगौली सन्धिपछि लाखौं गोरखा सैनिकहरूले बेलायती साम्राज्यको रक्षा र बिस्तारको लागि लडेका छन् । यसबीचमा ४२ वटा देशमा नेपाली आमाका सन्तति गोरखाहरूको रगत बगेको छ । गोरखा सैनिकहरूले सन् १८१६ देखि आजसम्मका प्रत्येक युद्धहरूको अग्रमोर्चामा रहेर बेलायतको पक्षमा लडेका छन् । पहिलो विश्वयुद्ध (सन् १९१४–१९) मात्रै २ लाख गोरखा सैनिकहरूले बेलायतको पक्षमा लडेका थिए । बेलायतको तल्लो सदनले ८ फेब्रुअरी १९८९ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार पहिलो विश्वयुद्धमा मात्रै २० हजार गोरखा सैनिक मारिएको तथ्याङ्क दिएको छ । त्यही तथ्याङ्क मान्ने हो भने २० हजार मारिँदा कम्तीमा एक लाख घाइते भए । यस्तै दोस्रो विश्वयुद्धमा ब्रिटिस साम्राज्यको तर्फबाट २ लाख ५० हजार गोरखाहरूले युद्ध लडे । 

यसपछिका अनेकौं क्षेत्रीय युद्धहरूमा लाखौं गोरखा सैनिक सहभागी भए । ब्रिटिस साम्राज्यको ‘ग्रेभ्स कमिसन’ले ४५ हजार गोरखा सैनिक मारिएको तथ्याङ्क देखाएको छ, तर यो तथ्याङ्क मिथ्या देखिन्छ । गोरखाहरूको लागि विगत २५ वर्षदेखि न्यायिक संघर्ष गरिरहेको गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले प्रस्तुत गरेको तथ्यहरूलाई हेर्दा ६० हजारभन्दा बढी गोरखा सैनिकहरू मारिएका छन् । गेसोको तथ्य र दाबी विश्वासयोग्य देखिन्छ, किनभने अझै यस्ता हजारौं लाहुरेनीहरू छन्, जो बेलायतका लागि लड्न गएका लाहुरे श्रीमान्को प्रतीक्षामा छन् । उनीहरू भन्छन्, ‘मलायाको लडाइँमा गएका मेरो श्रीमान् अझै फर्किएका छैनन्, मरे कि ज्यूँदो छन् कुनै खुटखबर आएको छैन । मारिए वा जिउँदा छन्, उत्तर चाहियो ?’ युद्ध लड्न गएका लाहुरेको प्रतीक्षामा बसेका लाहुरेनीहरूलाई  बेलायत सरकारले अहिलेसम्म उत्तर दिन चाहेकै छैन । यस कारण बेलायतका लागि लड्दा ६० हजार भन्दा बढी गोरखा सैनिकहरू मारिएको तथ्यलाई सहज मान्न सकिन्छ ।

६० हजार गोरखा मारिएको तथ्य जति कहालीलाग्दो छ, घाइते भएका वा बाँचेकाहरूमाथि ब्रिटिस सरकारले गरेको शोषण र विभेद चाहिँ त्यो भन्दा कहालीलाग्दो छ । यही विरुद्ध अहिले गोरखाहरू आन्दोलनमा छन्, तर ब्रिटिस सरकार भने आफूले गोरखाहरूमाथि गरेको विभेद र शोषणको बेवास्ता गर्दै गोरखा भर्ती सुरु भएको दुई शताब्दी मनाउने भव्य तयारीमा जुटेको छ । त्यसमा नेपाल सरकारले पनि साथ दिन खोजेजस्तो देखिन्छ । बेलायतले नेपालसँगको मित्रताको आधारलाई गोरखा नै बनाएका छन् । सन् १९२२ मा ब्रिटिस उपसचिव सर आर्थर हर्टजेलले भनेका थिए, ‘हामीले नेपालको मित्रतालाई महत्व दिनुको मूल कारण गोरखाहरू नै हुन् ।’ 

बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले पनि दुई देश बीचको मित्रताको आधार गोरखा नै बताउँदै आएका छन् । यसको अर्थ हो— गोरखा सैनिकहरू नभएको अवस्थामा बेलायतले नेपाललाई यतिधेरै महत्व दिँदैनथ्यो । यता गोरखाहरूको अधिकारको लागि लडिरहेको गेसोले चाहिँ यस्तो उत्सव मनाउन नदिने भन्दै बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनलाई ज्ञापनपत्र समेत बुझाइसकेको छ । उसले भनेको छ, ‘हामीलाई मानव व्यापारको साधन बनाएर हाम्रो पसिना, रगत, त्याग र बलिदानले आर्जन गरेको कमाईमाथि रजाइँ गर्दै दुवै देशका शासकहरूलाई केक काटेर उत्सव मनाउने नैतिक अधिकार छैन ।’ यसबेला गोरखाहरूले दुई देशबीचको कूटनीतिक सम्बन्ध तथा गोरखा भर्तीको कानुनी आधारमा समेत प्रश्न उठाएका छन् (बक्समा हेर्नुहोस्, गेसोले बेलायत सरकारलाई सोधेको २९ प्रश्न) । ती सबै प्रश्नहरू जायज पनि देखिन्छन्, के यही अवस्थामा यस्तो उत्सव मनाउन मिल्छ ? यो आलेखमा यसको उत्तर खोज्ने प्रयास गरिएको छ । 

गोरखा भर्तीको वैधता 

दोस्रो विश्वयुद्ध लगत्तै सन् १९४७ अगस्ट १५ मा भारत स्वातन्त्र भयो । दोस्रो विश्वयुद्ध लगत्तै लाखौं गोरखाहरूलाई खाली खुट्टा घर फर्काए पनि १९४७ अगस्ट १५ सम्म दश हजार ४ सय गोरखा सैनिकहरू बेलायती पल्टन गोरखा बिग्रेडमा कार्यरत थिए । गोरखाहरूलाई सँगै लैजाने बेलायती योजना थियो । भारतीयहरू गोरखालीहरूलाई भारतमै राख्न चाहन्थे । यही विषयमा विवाद हुँदा बेलायतले अण्डमान–निकोबारद्वीप नछाड्ने धम्की भारतलाई दियो । यस्तो धम्कीपछि जवाहरलाल नेहरू गोरखा सैनिकको विषयमा सहमतिमा आउन तयार भएका थिए । बेलायतको यस्तो धम्कीपछि गोरखा सैनिकलाई भागबिलो लगाउने सहमति भयो, तर आफ्नै नागरिकको भागबिलो बारेमा नेपाल सरकार बेखबर थियो । उनीहरूबीच सन् १९४७ नोभेम्बर ७ मा गोरखा ब्रिगेडका १० रेजिमेन्ट मध्ये दोस्रो, छैटौं, सातौं र दसौं राइफल्स बेलायतले लैजाने र बाँकी पहिलो, तेस्रो, चौथो, पाँचौं, आठौं र नवौं राइफल्स चाहिँ भारतमा राख्ने सहमति भयो ।

दुई देशले सहमति गरिसकेपछि केवल औपचारिकताका लागि १ नोभेम्बर १९४७ मा ब्रिटिस र भारतका अधिकारीहरू काठमाडौं आए । दुई देशले तयार पारेको सहमतिमा नेपालका तत्कालीन प्रधानमन्त्री पद्मशमेर राणा सही छाप गर्न तयार भए । यही सहीछापलाई ‘त्रिपक्षीय सम्झौता’ भनिन्छ । यो सम्झौता त्रि–पक्षीय भनिए पनि भारत सरकारको तर्फबाट सामान्य अफिसर दयाविरसिंह वेदी र ब्रिटेनको तर्फबाट ए.सी.बी साइमनले हस्ताक्षर गरेका थिए । नेपालको सरकार प्रमुखले गरेको सम्झौतापत्रमा दुई देशको तर्फबाट भने सामान्य अधिकृतस्तरकाले गर्नुले उतिबेलै यसको वैधानिकता प्रश्न उठेको थियो । त्यही सम्झौताको आधारमा आजसम्म नेपाली युवाहरूलाई गोरखा भर्तीमा लगिएको हो भन्ने दाबी गर्ने गरिएको छ, तर उक्त सम्झौता नै आजसम्म वैधानिक हुन सकेको छैन । सरकारस्तरीय सम्झौतालाई तीनै देशका संसदले पारित गर्नु अनिवार्य छ, तर आजसम्म कुनै देशको संसदले पारित गरेको छैन । बेलायती संसद हाउस आफ कमन्समा इन्डोर्स र पारित नगरेसम्म यसले वैधाकिता पाउँदैन । यस कारण लाखौं नेपाली युवाहरूलाई भर्ती गरेर युद्धमा होम्ने ब्रिगेड अफ गोरखाज स्वयम् गैरकानुनी हो ।

अर्कातिर गोरखा आन्दोलनकै क्रममा गेसोले हालेको मुद्दामा फैसला गर्दै ३० सितम्बर २००८ मा बेलायतको ‘रोयल कोट अफ जस्टीस’का न्यायधीस निकोला ब्ल््याकको इजलासले त्रिपक्षीय सम्झौतालाई गैरकानुनी भन्दै खारेज गरिदिएको छ । फैसलामा त्रिपक्षीय सम्झौतालाई ‘अन्लफुल, इलिगल एण्ड इरासनल’ भनिएको छ, तर आजसम्म हाम्रा कथित कूटनीतिविद्हरूले गोरखा भर्तीको वैधानिक आधार त्रिपक्षीय सम्झौता हो भनेर दाबी गर्दै आएका छन् । बेलायतको अदालतले नै गैरकानुनी भनिसकेको त्रिपक्षीय सम्झौताको अब कुनै कानुनी आधार छैन । यस कारण गोरखा भर्ती नै अवैध हो भन्ने प्रमाणित भइसकेको छ । यसकारण ब्रिटिस सेनाको बिग्रेड अफ गोरखाज नै अवैध होे । गोरखा ब्रिगेड नै अवैध भएपछि दुई देशबीचको मित्रताको वैधता कसरी हुन सक्छ ? 

यस्तो अवैध निकायले लाखौं नेपाली युवाहरूलाई विश्वयुद्धमा लड्न पठाएको छ । नेपाल विश्वयुद्धको पक्ष राष्ट्र थिएन । बेलायतको उपनिवेश पनि होइन । युद्धको पक्षराष्ट्र र उपनिवेश पनि नरहेको नेपाल ब्रिटेनको युद्धमोर्चाको सदस्य र सैनिक गठबन्धनको घटकसमेत होइन, तर युद्धमा होमेर हजारौं नेपाली युवाहरूलाई मारियो । सार्वभौम देशको नागरिकलाई गैरकानुनी रूपमा युद्धमा होम्नु युद्ध अपराध हो । यदि अन्तर्राष्ट्रिय नियम र मानवअधिकार सबैका लागि हो भने गैरकानुनी रूपमा नेपाली युवाहरूलाई युद्धमा होम्ने बेलायत सरकार युद्ध अपराधी हो । के अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको पालना गरिब राष्ट्रले मात्रै गर्नुपर्ने हो ? एक जनालाई यातना दिएको आरोप खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामालाई यतिबेला युद्ध अपराधको आरोपमा न्यायको कठघरामा उभ्याइएको छ । गैरकानुनी रूपमा हजारौं नेपाली युवाहरूलाई मार्ने बेलायत सरकार चाहिँ युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय अदालतको कठघरामा उभिनु पर्दैन ?

विभेदका दुई शताब्दी 

सन् १९८६ मा विश्वकप फुटबलको विजेता भएपश्चात् अर्जेन्टिनाका चर्चित फुटबल लिजेन्ड डिएगो म्याराडोनालाई सञ्चारकर्मीहरूले सोधे, ‘बेलायत विरुद्धको खेलमा जित कसरी सम्भव भयो ?’ म्यारोडोनाले मुस्कुराउँदै भनेका थिए, ‘हामीले बेलायतलाई विश्वकप फुटबल फाइनलमा हराउन सक्यौं, किनकि तिनीहरूको समूहमा गोरखालीहरू थिएनन् ।’ फकल्यान्ड टापुको विषय लिएर सन् १९८२ मा अर्जेन्टिना र बेलायतबीच भएको युद्धमा अर्जेन्टिनाको शर्मनाक हार भएको थियो । गोरखालीहरूकै कारण आफ्नो पराजय भएको अन्र्जटिना सरकारको निष्कर्ष थियो । युद्धको समीक्षा सहित तयार पारिएको अर्जेन्टिनाको प्रतिवेदन भन्छ, ‘हामी बेलायतीसँग मात्रै लडेको भए हाम्रो जित सुनिश्चित थियो, हाम्रो पराजयको कारण बहादुर गोरखाहरू नै हुन् । केवल बेलायतीसँग लड्न परे अझै जित्न सक्छौं ।’ 

आम अर्जेन्टिनी जनता पनि गोरखाहरूको कारण पराजय भोग्नु परेको तथ्यप्रति जानकार थिए, तर उनीहरूको दिलदिमागमा बेलायतीसँगमात्रै लडे जित्न सकिन्छ भन्ने थियो । फकल्यान्ड युद्धमा हार भएको ४ वर्षपश्चात् विश्वकप फुटबलमा भएको विजयपछि त्यही अर्जेन्टिनी नागरिकको दिलदिमागमा भएको तथ्यलाई सार्वजनिक गरेका थिए म्यारोडोनाले । एकहिसाबले म्यारोडानको चुनौती थियो कि गोरखाली विनाको बेलायतलाई हामी जित्न सक्छौं । ‘गोरखालीकै कारण बेलायतसँग पराजित हुनुप¥यो’ भन्ने म्यारोडोनाको दिल दिमागमा मात्रै छैन । जहाँ–जहाँ बेलायतले युद्धमा जित हात पा¥यो ती सबै देशका जनताहरूले अहिले पनि भन्छन्, ‘गोरखाली नभएको भए हामी बेलायतलाई जित्थ्यौं ।’ यो कुनै भावुक वा उत्तेजित प्रतिक्रिया होइन, तथ्य हो । कुनै मिथक पनि होइन, ज्यूँदो इतिहास हो । यो तथ्यसँग बेलायती शासकहरू पनि सहमत छन् । बेलायती शासकहरूले हरेक युद्धपछि गोरखालीहरूकै बहादुरीको कारण जित हासिल भएको प्रतिक्रियाहरू दिएका छन् । हिटलरले भनेका थिए, ‘यदि मसँग गोरखाहरू हुन्थ्थे भने मलाई संसारका कुनै पनि सेनाले पराजित गर्न सक्ने छैनन् ।’ गोरखाहरूको बहादुरी माथि यस्ता अनेकौं ‘जार्गन’ छन् । 

यी माथिका दुई तथ्यहरूको निष्कर्ष हो, ‘गोरखाहरूले प्रयोगले बेलायतले सबैजसो युद्धहरू जितेका थिए । बेलायती शासक र जनता दुवै पनि गोरखाहरूकै कारण बेलायतले युद्ध जितेको तथ्यमा सहमत छन् । गोरखाकै कारण ब्रिटिस विश्वमा एउटा सर्वशक्तिमान राष्ट्र बन्न पुग्यो, तर उसले आफ्नो मुलुक बचाइदिने गोरखा सैनिकहरूलाई सधैँ विभेद र शोषण ग¥यो । युद्धपछि पेन्सन वा राहतको त कुरै छोडौं, आलो घाउको उपचार समेत नगरी हजारौं नेपाली युवाहरूलाई खाली खुट्टा नेपाल फर्काइयो । खाली खुट्टा नेपाल फर्काइएका दर्जनौं घटना मध्ये अमेरिकी हवाइकाण्ड, मलाया र बु्रनाइको घटनालाई प्रतिनिधि घटनाको रूपमा लिन सकिन्छ ।

बेलायतले सन् १९४८ देखि सन् १९६० सम्म मलायाका कम्युनिस्टहरूलाई दबाउन गोरखा सैनिकहरूलाई पठायो । कम्युनिस्ट दबाएबापत् उसले मलाया (अहिलेको मलेशिया) सरकारबाट प्रति गोरखा सैनिक प्रति महिना ४ सय ५० मलाया डलरका दरले भाडा असुल्यो, तर गोरखा सैनिकहरूलाई भने प्रतिव्यक्ति प्रतिमहिना ४२ डलर मात्रै दियो, गोरा सैनिकहरूलाई भने पूराका पूरा तलब दिइयो । त्यस बेला मलायामा गोरखा सैनिकहरूको संख्या १४ हजार ६ सय थियो । यस हिसाबले उसले मलायाबाट मात्रै गोरखा सैनिकलाई भाडामा दिएर १ अर्ब मलयन डलर नाफा ग¥यो । यसरी गोरखा सैनिकलाई भाडामा दिने, युद्धको ढाल बनाउने र उनीहरूलाई भाडामा दिने र अन्य सेवा बेचेबापत् अन्य धेरै माध्यमबाट अर्बौअर्ब पाउण्ड असुल्यो । 

सन् १९६२ मा बु्रनाइमा र सन् १९६३ देखि सन् १९६८ सम्म इण्डोनेसिया र मलेसियाको सीमायुद्धमा पनि गोरखा सैनिकहरूलाई नै प्रयोग गरियो । यहाँबाट पनि मलाया सरकारबाट अर्बौं पाउण्ड असुलियो । सन् १९६९ मा इण्डोनेसिया र मलायाको युद्ध समाप्त भएपछि फौजको संख्या घटाएर ७ हजारमा झारियो, बाँकी सबै गोरखा सैनिकलाई रित्तो हातमा नेपाल फर्काइयो । सारा गोरखा सैनिकको रगत बेचेर अर्बाैं डलरको भाडा असुल्ने, अनि अंगभंग भएका र युवा उमेर गुज्रिसकेका गोरखा सैनिकलाई रित्तै हात फर्काइयो । बेलायती माटो र राजमुकुटका लागि लड्दा घाइते, अपाङ्ग शरीर, तिनका निर्दोेष परिवारको लागि बोझ हुन पुग्यो । युद्धमा मानवढालको रूपमा प्रयोग गरेर युद्धपछि रित्तो हात फर्काउँदा बेलायतले कुन कानुन प्रयोग ग¥यो ? 

दुई सयको वर्षको अवधिमा गोरखालीहरूले बेलायतको पक्षबाट सयौं युद्ध लडेका छन् । यस अवधिमा कति गोरखा सैनिक मारिए, घाइते भए वा हराए ? कुनै खोजबिन भएको छैन । दोस्रो विश्वयुद्धमा मात्रै विश्वभरका २ करोडभन्दा बढी जनता मारिएका थिए । २० करोड मानिस घाइते भएका थिए । बेलायतकै तथ्याङ्क अनुसार पनि दोस्रो विश्वयुद्धमा २ लाख ५० हजार गोरखालीहरूले भाग लिएका थिए । दोस्रो विश्वयुद्धमा देशको जनसंख्याको अनुपातमा सबैभन्दा बढी नेपालीहरू नै मारिएका थिए । ठीक यसै गरी अन्य युद्धहरूमा पनि ठूलो संख्यामा नेपालीहरू नै मारिएका छन्, तर विडम्बना अहिलेसम्म बेलायतले कति गोरखा सैनिक मारिए, घाइते भए वा हराए भन्ने कुनै तथ्याङ्क सार्वजनिक गरेको छैन । गोरखाहरूले तथ्याङ्क माग्दा दिन मानेको छैन । अझै पनि यस्ता सयौं वृद्ध लाहुरेनीहरू छन्, जो ब्रिटिसको पक्षमा विश्वयुद्ध लड्न हिँडेको आफ्नो खसमको प्रतीक्षामा छन् । उनीहरूले अझै चुरा फुटाएका छैनन्, सिन्दुर पुछेका छैनन् । उनीहरू भन्छन्, ‘मरे बाँचेको केही पत्तो छैन, कसरी सिन्दुर पुछ्नु !’ ब्रिटिसकै अधिकारीहरू भन्छन्, ‘मारिएका, हराएका र घाइतेहरूको तथ्याङ्क बेलायतसँग दुरुस्त छ, तर क्षतिपूर्ति र राहत दिनुपर्ने डरले उनले सार्वजनिक नगरेका हुन् ।’ क्षतिपूर्ति वा राहत दिनुपर्ने डरले हजारौं नेपालीहरूको बारेमा गुपचुप राख्नु बेलायतको कस्तो मानवअधिकार हो ? 

यस्तै बेलायती अन्यायले सीमा नाघेको घटना अमेरिकी हवाइकाण्डको घटना पनि हो । हवाइ उत्तरी प्रशान्त महासागरमा अवस्थित मसिना टापुहरूद्वारा निर्मित संयुक्त राज्य अमेरिकाको पचासौं संघीय राज्य हो । जहाँ दोस्रो विश्वयुद्धताका हिरोहितोको जापानी फौजले पर्ल हारवरमाथि आक्रमण गरी अमेरिकालाई युद्धमा सहभागी हुन बाध्य पारेको थियो । त्यही ठाउँमा सन् १९८६ सालमा सपोर्ट कम्पनी, फस्ट सेभेन गोरखा राइफल्सका एक सय एघार जना गोरखालीहरू पनि बेलायतले लड्न पठाएका थिए । त्यही कम्पनीका निर्दोष सिपाहीहरूलाई कम्पनी कमान्डर अर्थात् गोरा अधिकृत कुटेको झुटो अभियोग लगाई बर्खास्त गरिएको थियो । हवाइकाण्ड हुनुमा मुख्य दोषी गोरा अधिकृत मेजर पियर्स स्वयम् थिए । गोरखालीसम्बन्धी यथेष्ट ज्ञान नभएका मेजर पियर्स गोरा पल्टनबाट अस्थायी काजमा गोरखाली पल्टनमा खटिइआएका थिए । उनी दम्भी स्वभावका मात्र थिएनन्, आफू मालिक र गोरखालीहरू दास अथवा गरिब राष्ट्रका दरिद्रहरू हुन् भन्ने मानसिकताले पनि ग्रस्त थिए । मेजर पियर्सको सनकको भरमा १ सय ११ जना गोरखालीहरूलाई खाली खुट्टा नेपाल पठाइएको थियो । एउटा हाकिमको सनकको भरमा १ सय ११ जनालाई खाली खुट्टा नेपाल पठाउनु बेलायतको कुन मानवअधिकार हो ?

बेलायती समाजशास्त्रीहरूकै अनुसार बेलायतले गोरखा भर्ती सुरु गर्नुअघि भर्तीमा जाने जातिहरूको बारेमा सबै अध्ययन गरेका थिए । गाउँ गाउँमा बेलायती समाजशास्त्री र मानवशास्त्रीहरू गएर भर्ती हुने जाति गुरुङ, मगर, राई, लिम्बूको बारेमा सबै खालका अध्ययन गरेका थिए । उनीहरूलाई थाहा थियो, ‘यी जातिहरू गैरहिन्दू हुन् ।’ तर, भर्ती सुरु भएदेखि हरेक पल्टनमा हिन्दू पण्डित राखेर हिन्दू धर्मको प्रशिक्षण दिइयो । किरात र बौद्ध धर्म मान्ने यी लाहुरेहरूलाई जबर्जस्ती हिन्दू धर्मको प्रचारक बनाइयो । त्यतिमात्रै होइन घर फर्किंदा लाहुरेहरूले चोखो हुने नाममा पतिया समेत गर्नुप¥यो । लाहुरेहरूले नेपाल छिर्नुअघि सात दिनसम्म एक छाक मात्रै खाना खाएर गाईको गहुँत खानु पथ्र्यो । जानी–जानी कुनै जातिको धर्म परिवर्तन गरिदिने अधिकार बेलायतसँग छ ? जबर्जस्ती धर्म परिवर्तन कुन मानवअधिकार हो ?

गोरखाआन्दोलनपछि बेलायती उच्च अदालतले बेलायत सरकारले गोरखा सम्बन्धी बनाएको नीति ‘अन्लफुल, इलीगल एण्ड इराशनल’ छ र समानताको सिद्धान्तका आधारमा नीति बनाई समानता देऊ’ भन्ने आदेश जारी ग¥यो । बेलायती संसदमा समेत  गोरखालीहरूलाई समानता दिने कि नदिने भन्ने सम्बन्धमा चारघन्टासम्म बहस चल्यो । सदनमा मतदान हँुदा गोरखालीहरूको पक्षमा २१ मत बढी प¥यो, र बेलायत सरकार समानताको नीति ल्याउन बाध्य भयो । लाखौं पैसा तिरेर गोरखाली र तिनका परिवारहरू बेलायत जान थाले, तर गोरखालीहरूलाई दिइएको सुविधा सैनिक सेवाको नभई शरणार्थीलाई दिइने सुविधा दिइएको छ । जबकि गोरखाली शरणार्थी होइनन्, उनीहरू त दुई सय वर्ष अघिदेखि बेलायतका लागि लड्दै आएका बेलायती राष्ट्र सेवक हुन् । दुई सय वर्ष देखि आफ्नो लागि लड्दै आएका राष्ट्र सेवकहरूलाई शरणार्थीको दर्जामा राख्नु बेलायती शासकको कस्तो न्याय हो ?

 

Loading...