गएराति जाजरकोटमा रात्रीबस दुर्घटना हुँदा ५ को मृत्यु २५ घाइते

सुर्खेत, १२ मंसिर । जाजरकोट कुदु नजिक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आइतबार बिहानै कुदुको खहरे खेला नजिक उक्त बस दुर्घटना भएको त्यहाँका स्थानीयले जनाएका छन् । दुर्घटनामा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

बाँकेको नेपालगञ्जदेखि जाजरकोटको हुँदै रुकुम राडिबजार गइरहेको ना६ख २७५७ नम्बरको बस राति साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका-१३ कुदुमा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-४ की २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–३ करुवाका २५ वर्षीय शेरबहादुर परियार, कुशे गाउँपालिका-९ की १८ वर्षीया अनिला नेपाली र सप्तरी घर भई जाजरकोटको सक्लास्थित दिपेन्द्र माध्यमिक विद्यालयमा कार्यरत शिक्षक गंगाराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा २५ जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ ।

बस दुर्घटनाको कारण खुलेको छैन । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

Loading...