सशस्त्र र नेपाल प्रहरीका भान्सामा इन्डक्सन चुलो प्रयोग गरिने ,बार्षिक ६० करोड बराबरको ग्यास खर्च बचत हुने

मङ्सिर ९ ,काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भान्सामा प्रयोग हुदै आएको एलपी ग्यास हटाएर विद्युतीय चुलो राख्न सरकारले प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बुधबार दुवै निकायका उच्च अधिकारीहरूसँग छलफल गर्दै ग्यासको प्रयोग हटाएर स्वदेशमा उत्पादन भएको विद्युतीको खपत गर्न इन्डक्सनको प्रयोग गर्न बारे कार्ययोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाउने बिषयमा छलफल भएको हो ।
छलफलमा सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेल, नेपाल प्रहरीका एसएसपी फणिन्द्र बराल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी थिए । छलफलका क्रममा विद्युत् खपत तथा वातावरण संरक्षणका लागि स्वच्छ ऊर्जाको प्रयोग बढाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकमा कसरी विद्युतीय उपकरणको प्रयोग बढाउन सकिन्छ भनेर राय सुझाव लिइएको ऊर्जामन्त्री पम्फा भुसालको सचिवालय स्रोतले बताएको छ ।
अहिले सुरक्षा निकायका भान्सामा पहिला प्रयोग गरिदै आएको दाउरालाइ विस्थापन गरी हाल ग्यासको प्रयोग हुँदै आएको छ । सशस्त्र प्रहरीको भान्सामा वार्षिक १० करोड रुपैयाँ र नेपाल प्रहरीको भान्सामा वार्षिक ५० करोड रुपैयाँ बराबर ग्यासमा खर्च हुने गरेको विवरण बुधबार मन्त्रालयमा भएको छलफलका क्रममा ति निकाएले बिवरण बुझाइएको छ। इन्डक्सन चुलो खरिदका लागि कुनै बजेट शीर्षकबाट गृह मन्त्रालयले ५० प्रतिशत अनुदान उपलब्ध गराउन सकिनेबारे पनि छलफल भएको जनाइएको छ ।
सुरक्षा निकायमा खपत हुने ग्यासलाई विद्युतले कसरी प्रतिस्थापन गर्न सकिन्छ भनेर विस्तृत अध्ययनसहितको सुझाव दिनका लागि कार्यदल गठन गर्ने निर्णय मन्त्रालयले गरेको छ । उक्त कार्यदलमा गृह, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सुरक्षा निकायको प्रतिनिधित्व हुनेछ ।

Loading...