डिफेण्डिङ च्याम्पियन मछिन्द्रको विजयी सुरुआत

काठमाडौँ– साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।

सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुआत गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बलले दुई गोल गरे । एनआरटीका एरिक विष्टले एक गोल फर्काए ।

खेलको १२ औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । दोस्रो हाफको ५४ औं मिनेटमा एरिक विष्टले फ्रिकिकबाट गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा फर्काए । ६२ औं मिनेटमा मछिन्द्रका सुनिलले गोल गरेका थिए । तर, अफसाइड रहेपछि उनको गोलले मान्यता पाएन ।

त्यसपछि खेलको ८० औं मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–१ को जित दिलाए । जितसँगै मछिन्द्रले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । मछिन्द्र तालिकाको दोस्रो स्थानमा रहेको छ । एनआरटीले भने हारबाट लिगको सुरुआत गरेको छ ।

त्यसअघि सोमबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको विभागीय डर्बी १–१ गोलको बराबरीमा सकिएको हो । खेलको ५१ औं मिनेटमा सन्तोष हेमरामले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६१ औं मिनेटमा परिवर्तित खेलाडी विवेक बस्नेतले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै आर्मी र पुलिसले १–१ अंक पाएका छन् ।

Loading...