एमाले बैठकमा केपी ओली र भिमरावलबीच

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयनलाई लिएर चर्काचर्की भएको छ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकका क्रममा उपाध्यक्ष रावलले एमालेलाई एक बनाइराख्ने शर्त अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासोसहित ओलीमाथि प्रश्न गरेका थिए।

१० बुँदे सहमति कार्यान्वयन कार्यदल संयोजकबाट राजीनामा दिइसकेका रावलले त्यही विषयलाई मुद्दा बनाएपछि ओलीसँग भनाभन भएको हो।

बैठकमा रावललाई रोक्ने क्रममा ओलीले १० बुँदे सहमति कार्यान्वयन कार्यदलबाट राजीनामा दिएकोबारे प्रश्न उठाएका थिए। उनले १० बुँदे कार्यान्वयन गर्न नसकेर कार्यदलबाट राजीनामा दिइसकेपछि त्यसको अब औचित्य सकिएको बताएका थिए।

‘तपाईंले कार्यान्वयन गर्न सक्नुभएन त, मैले के गर्न सक्छु?,’ ‌ओलीले रावललाई भनेका थिए, ‘राजीनामा दिएपछि कार्यदल पनि सकियो। १० बुँदेको औचित्य पनि सकियो। अब किन चाहियो कार्यदल? तपाईंले राजीनामा दिएपछि कार्यदल नै भंग भइसक्यो।’

ओलीले त्यसक्रममा पार्टीमा समस्या रहेका बताउँदै तीबारेमा बैठकमै छलफल गरेर समाधान गरिने जवाफ रावललाई दिएका छन्।

ओलीले काम गर्न नसकेर कार्यदलबाट राजीनामा दिएको बताएपछि रावल आक्रोशित भएका थिए। उनले काम गर्न नसकेर राजीनामा दिएको कुरा गलत रहेको बताए।

१० बुँदे सहमतिबारे आफूले राखेका कुरा पार्टीमा कार्यान्वयन नभएपछि आफूले राजीनामा दिएको रावलले बताएका थिए। उनीहरु बीचमा भनाभन बढेपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र अनुशासन आयोगका अध्यक्ष अमृत कुमार बोहराले रोकेका एक नेताले बताए।

एमाले एक रहँदासम्म माधवकुमार नेपाललाई साथ दिएका रावलले विभाजनका क्रममा उनलाई छाडेका थिए। १० बुँदे कार्यान्वयन हुने आशमा नेपालले एकीकृत समाजवादी खोल्दा रावल एमालेमै बसेका थिए।

तर १० बुँदे अनुसार आफू सुदूरपश्चिम इन्चार्ज बन्न नपाएको भन्दै रावल निरन्तर रिसाइरहेका छन्। तर ओलीले लेखराज भट्टलाई त्यहाँको इन्चार्जबाट नहटाउने अडान लिएका छन्।

१० बुँदेलाई लिएर रावलसँगै पार्टी उपमहासचिव घनश्याम भुसाल पनि असन्तुष्ट छन्। भुसालले पार्टीमा १० बुँदे कार्यान्वयन मागसहित तीन बुँदे फरक मत राखिसकेका छन्।

Loading...