फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौँ– पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता भएको नेपाली टोली विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको नियमित वरीयतामा एक स्थान तल झरेको छ ।

बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औँ स्थानमा पुगेको छ । यसअघि नेपाली टोलीको वरीयता १६८‍औँ रहेको थियो ।

दक्षिण एसियाको वरीयतामा आठौँ पटक साफ च्याम्पियन भारत १०३ औँ स्थानसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको माल्दिभ्सको १५६औँ स्थानमा छ । नेपाल तेस्रो स्थानमा रहँदा भुटान १८६ औँसहित चौथो स्थानमा छ ।

यस्तै, १८७ औँ स्थानसहित बंगलादेश दक्षिण एसियामा पाँचौँ स्थानमा रहँदा फिफा प्रतिबन्धमा रहेको पाकिस्तान १९७ औँ स्थानमा छ । साफमा सुधारिएको देखिएको श्रीलंका २०४ औँ स्थानमा छ ।

फिफाको नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम छ । यस्तै, ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौँमा इंग्ल्यान्ड रहेका छन् ।

यता, कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिना छैटौँ स्थानमा रहँदा स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र डेनमार्क दशौँ स्थानमा छन् ।

Loading...