विराटनगर उडेको फिस्टेलको हेलिकोप्टर इनरुवाको धानखेतमा ल्याण्ड

काठमाडाैं । सुनसरीको इनरुवामा शनिबार साँझ फिस्टेल एयरको एक हेलिकोप्टर धानखेतमा आकस्मिक अवतरण गरिएको छ।

काठमाडौंबाट विराटनगरका लागि चार्टड हेलिकोप्टर हेलिल्याण्ड थाहा नभएर धान खेतमा अवतरण गरिएको हो। हेलिकोप्टरमा चालकदलका दुई सदस्यसहित काठमाडौं भ्यूटावरका निर्माता मनोज भेटवाल सवार थिए।

बेलुका ६ बजेर ५ मिनेटमा स्थानीयले घरमाथि नजिकैबाट पिलिक्क पिलिक्क लाइट बाल्दै हेलिकप्टर दिशाहिन भएर इनरूवा ३ सखुवागाछीकाे घनावस्ती माथि माथि उडेको देखेका थिए।

उक्त दृश्य देखेपछि हेलिकोप्टर अब खस्ने हो कि तब खस्ने हो कि भनेर स्थानीय त्रसित भएका थिए। तर अन्तत: हेलिकोप्टर सखुवागाछीमा कुलेखानीकाे हाइटेन्सन नजिकैको धानखेतमा अवतरण भएको थियो।

क्याप्टेनका अनुसार काठमाडौंबाट विराटनगरका लागि चार्टर गरिएको उक्त हेलिकप्टर हेलि लाेकेशन थाहा नभएको कारण खेतमा ल्याण्ड गरिएको हो ।

हिलाे धानखेतबाट केही समयपछि भने उडाएर हेलिकोप्टर सुख्खा ठाउँमा सारिसकिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कार्कीका अनुसार तोकिएको समयमा विराटनगर नपुगेपछि एयर ट्राफिक कन्ट्रोलको निर्देशनअनुसार हेलिकोप्टर सखुवागाछीमै अवतरण गरिएको हो।

Loading...