कांग्रेस काठमाडौंको नगर अधिवेशनमा आज देउवा-सिटौला भर्सेज प्रकाशमान-गगन भिडन्त

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंमा आज नगर अधिवेशन हुँदैछ। ११ वटा नगरपालिकामध्ये १० वटामा शनिबार अधिवेशन हुन लागेको हो।

दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन बाँकी रहेकाले आज नगर अधिवेशन नहुने नेपाली कांग्रेसले जनाएको छ।

चन्द्रागिरी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ। त्यहाँ अहिलेकै नगरसभापति घनश्याम गिरीलाई दोहोर्‍याउन संस्थापन र इतर पक्ष तयार भएपछि निर्विरोध नेतृत्व छानिन लागेको हो।

काठमाडौंका बाँकी नौ वटा नगरपालिकामा नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाको एउटा टिम बनेको छ भने इतर पक्षबाट प्रकाशमान सिंह र गगन थापाको अर्को टिम तयार गरिएको छ ।

सबैभन्दा धेरै चर्चा यसपालि काठमाडौं महानगरको चुनावको हुँदैछ। किनभने यहाँ १५ वर्षपछि चुनाव हुँदैछ भने मुख्य दुई समूहबीच प्रतिस्पर्धाको तयारी छ।

काठमाडौंमा पछिल्लो समय पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापा एकै ठाउँमा उभिएका छन्।

साथै सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष पनि एकै ठाउँमा आइपुगेका छन्। कांग्रेसका यी दुई पक्षबीच काठमाडौंमा प्रतिस्पर्धा हुनेछ।

दुई समूहले प्यानल नै बनाएर शनिबार काठमाडौंको पालिका अधिवेशनमा भाग लिने तयारी गरेका छन्।

Loading...