काठमाडौ। बिपि कोईराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठलाइ अपहरण गरि फरार रहेका पक्राउ परेका छन्। घटनाको ११ वर्षपछि नुवाकोट बिदुर नगरपालिका-१२ मुलाबारी का ४५ वर्षीय राजेन्द्र कुमार पण्डित भन्ने राजेन्द्र पण्डितलाई मंगलबार प्रहरीले पक्राउ गरेका हुन् ।
२०६७ जेठ ४ गते चितवन भरतपुर महानगरपालिका-१० हाकिमचोकस्थित सडकबाट १२/१५ जनाको अज्ञात समूहले अपहरण गरी लगी १९ दिनसम्म बन्धक बनाई राखेकोमा फिरौती वापत १ करोड १० लाख रुपैयाँ मूल्य बराबरको ३ किलो सुन लिएपछी जेठ २२ गते अपहरण मुक्त गरी फरार रहेका उनलाई भारतको विभिन्न स्थानहरुमा लुकीछिपि बसेकोमा नेपाल आएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट फेला पारी पक्राउ गरेको छ ।
उनीउपर पुनरावेदन अदालत हेटौंडाबाट २०७० माघ २१ गते अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो ।
पक्राउ परेका पण्डितलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको उक्त अनुसन्धान ब्यूरोले जनाएको छ ।