अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा नयाँ बानेश्वरका संकल्प कोइराला विजयी

इलाम, ३ भदौ । अनेरास्ववियु इलामले आयोजना गरेको अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला विजेता बनेका छन् । अनेरास्ववियुले ‘वैदेशिक शिक्षामा नेपाली युवाहरूको पलायन : समस्या र समाधान’ शीर्षकमा निबन्ध प्रतियोगिता गराएको थियो ।

प्रतियोगिताको विजेता बनेका कोइरालाले ३५ हजार आठ सय रुपैयाँ नगद प्राप्त गरेका छन् । तीन सय पूर्णाङ्कको प्रतिस्पर्धामा उनले २३८ अंक प्राप्त गरेका थिए ।
प्रतियोगीतामा खोटाङ राजापानीका केशव भण्डारी दोस्रो भएका छन् । उनले २३ हजार आठ सय रुपैयाँ प्राप्त गरेका छन् । भण्डारीले २३७ अंक प्राप्त गरे ।

इलामको देउमाई नगरपालिकाकी मनिषा अधिकारी तेस्रो भइन् । अधिकारीले ११ हजार आठ सय रुपैयाँ पाएकी छन् । अधिकारीले २३६ अंक प्राप्त गरेको अनेरास्ववियु इलामका संयोजक मिलन खत्रीले जानकारी दिए ।

अनेरास्ववियले सहिद रत्न वान्तवाको स्मति दिवस पारेर गत २७ चैतमा अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिताको घोषणा गरेको थियो भने संविधान दिवसको अवसर पारेर प्रतियोगीताका विजेताहरूको नाम सार्वजनिक गरेको हो ।

प्रतिस्पर्धीलाई निबन्ध पठाउन दुई महिनाको समय दिइएको थियो । प्रतिस्पर्धामा ४० जना सहभागी थिए । त्यसमध्ये एकजना भारतीय थिए भने विदेशमा बसोबास गर्ने चारजनाले प्रतिस्पर्धामा भाग लिएका थिए । निबन्ध प्रतियोगितामा प्रतिस्पर्धा गर्न उमेर र भूगोलको सीमा तोकिएको थिएन ।

Loading...