निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय अधिवेशन ७ र ८ माघमा

काठमाडौं, ३ असोज । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यसमितिको आठौँ बैठकले आगामी ७-८ माघमा राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यमा २ असोजमा सम्पन्न बैठकले ११औँ राष्ट्रिय अधिवेशनबारे निर्णय गरेको हो ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनले राष्ट्रिय अधिवेशनको आयोजनाबारे जानकारी दिएको हो । संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनबारे जानकारी दिँदै निजामती कर्मचारी संगठनको माइन्युट बुक, छाप, लेटर प्याड चोरी भएको जानकारी गराए ।

कार्यालयको सामानसहित केही जिम्मेवार भनिएका कर्मचारीहरू हराएको उनले बताए । उनले भने, ‘हराएका साथीहरू नै चोरीमा संलग्न भएका हुन् कि भन्ने आरोप लगाउनुपर्ने अवस्था आएको छ । आठवटा प्रदेशको अधिवेशन गर्ने भनेर केन्द्रीय कमिटीको बैठक बस्ने सल्लाहअनुसार निर्णयमा पुग्नु अगाडि नै कार्यालयबाट लेटर प्याड, माइन्युट बुक हरायो ।’

ती सामग्री लगेर साथीहरूले एउटा कोठाबाट निर्णय परिर्वतन गरेको समेत उनले आरोप लगाए । कुनै पनि मिडियाले यस्ता कुराबाट भ्रममा नपर्न आग्रह गर्दै भने, ‘म केदार देवकोटा आधिकारिक केन्द्रीय अध्यक्ष हुँ ।’

सबै पेसामा रहेका कर्मचारीको हकमा समान व्यवहार हुनुपर्छ भनेर आफूहरूले माग गरेको र घोषणापत्रमा उल्लेख गरेको समेत उनले बताए । उनले आफ्नो संयोजकत्वमा उपाध्यक्ष लेखनाथ कोइराला सहसंयोजक रहने गरी २७७ सदस्यीय राष्ट्रिय अधिवेशन आयोजक समिति गठन गर्ने बैठकले निर्णय गरेको बताए । उनले जिल्ला/विभागीय कार्यसमितिहरू, प्रदेश कार्यसमितिहरूको अधिवेशन मंसिर र पुस महिनाभित्र सम्पन्न गर्ने निर्णय भएको पनि जानकारी दिए ।

Loading...