छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन शिलान्यास, महानगरबाट ५ करोड अनुदान

 

काठमाडौँ । छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माणका लागि शिलान्यास भएको छ । आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा प्रमुखसहित उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नविन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमि पुजन गर्नुभएको थियो र्।
छत्रपाटीस्थित गंगालाल मार्गमा रहेको १० आना १ दाम जग्गामा करीब ३५ करोड रुपैयाँ लागतमा नयाँ भवन निर्माण थालिएको हो ।
शिलान्यास अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख शाक्यले योजनाहरु समयमा कार्यान्वयन नभए व्ययभार थपिनेप्रति सजग हुनुपर्ने बताउनुभयो । महानगरले गएको बर्ष पनि अस्पताल भवनका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । पोहोर काम नभएपछि पैसा खर्च गर्न पाइएन । अर्कोतिर यस बर्ष लागत बढेर खर्च थपिएको छ । उहाँले भन्नुभयो, ‘समयमा काम गर्नोस् । स्तरीय काम गर्नोस् । पैसाको चिन्ता नगर्नोस् ।’

उहाँले अस्पतालले निजी क्षेत्रसँग प्रतिस्पर्धी सेवा दिन सकेन भने लगानीको उपयोग नहुने बताउँदै अस्पतालले यसतर्पmका योजनामा ख्याल गर्नुपर्ने धारणा राख्नुभयो ।
कोविड संक्रमणको दोस्रो लहर चलेका बेला महानगरले यस अस्पताललाई महानगरको कोविड विशेष अस्पतालका रुपमा चलाएको थियो । भोलि आवश्यक परे हामी फेरि कोविड अस्पतालका रुपमा चलाउन सक्छौँ । प्रमुख शाक्यको भनाइ थियो ।
स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो । यसको सहज वितरणका लागि काठमाडौँ महानगरले लगानी बढाउँदै लगेको छ । कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कोविडको रोकथाम, उपचार र नियन्त्रणका लागि सामुदायिक र सरकारी अस्पतालहरुसँग सहकार्य गरेको बताउनुभयो । व्यक्ति निरोगी रहे मात्र सरकारले उपलब्ध गराएका अरु अधिकार प्रयोग हुन्छन् । सेवा भोग्न सक्छन् । त्यसैले सबै अधिकारमध्ये पनि नागरिकलाई स्वास्थ्य सम्बन्धी अधिकारको प्रत्याभूति गराउन आफूहरु प्रयासरत रहेको उहाँको भनाइ थियो ।

समुदायमा स्वास्थ्य संकट भएका बेला यो चिकित्सालयको स्थापना भएको हो । ०१७ सालमा राजनीतिक अस्थिरता भएका बेला भएका झडप बेला घाइते भएकालाई उपचार गर्न यसको उल्लेखनीय भूमिका छ । चिकित्सालयको विगतका बारेमा चर्चा गर्दै वडा १७ का अध्यक्ष नविन मानन्धरले, समुदायलाई अप्ठ््यारो परेका बेला चिकित्सालयले र चिकित्सालयलाई कठिन भएका बेला काठमाडौँ महानगरले सहयोग गरेको बताउनुभयो ।
०७२ सालको भूकम्पको संकट, ०७५ तिर महानगरमा फैलिएको डेङ्गु र त्यसपछि विश्वव्यापी रुपमा फैलिएको कोविडका समयमा चिकित्सालयले स्वास्थ्योपचारमा गरेको योगदान प्रशंसनीय छ । मानन्धरको भनाइ थियो ।
स्वास्थ्योपचारका सबै सेवालाई आत्मनिर्भर बनाउन गरिएको प्रयासका बारेमा चर्चा गर्दै अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अर्को साताबाट दैनिक १ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट स्थापना गर्न लागिएको जानकारी दिनुभयो । अस्पतालको विकासका लागि काठमाडौँ महानगरको आर्थिक सहयोग एवम् अभिभावकीय साथबाट विकसित हुने मौका पाएको डा. श्रेष्ठको भनाइ थियो ।
अस्पताल निर्माणको पहिलो चरणमा भूमिगत १ तलासहित ७ तले भवनको स्ट्रक्चर तयार पारिनेछ । यसका लागि करीब १२ करोड रुपैयाँ खर्च हुनेछ । भवन निर्माणका लागि काठमाडौँ महानगरले उपलब्ध २ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । यसमा २ करोड ५० लाख रुपैयाँ थपेर यो बर्ष ५ करोड रुपैयाँ दिनेछ । यसबाहेक अस्पतालको आन्तरिक आय र दाताहरुबाट प्राप्त हुने रकम प्रयोग गरिनेछ ।
चिकित्सालयमा २४ घण्टै इमर्जेन्सी, शल्यक्रिया, जनरल वार्ड, आइसीयू, भेन्टिलेटर, प्याथोलोजी ल्याबसहित सबै प्रकारका सामान्य र विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा छन् ।

 

 

Loading...