तालिबानले घोषणा गर्‍यो अन्तरिम सरकार

काठमाडौं । अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको तीन सातापछि तालिबानले सरकार गठनको घोषणा गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबानले अफगानिस्तानमा सरकार बनाएको घोषणा गरेका हुन् ।

मुजाहिदका अनुसार तालिबानको सरकारको नेतृत्व मुल्लाह मोहम्मद हसन अखुन्दले गर्नेछन् । डेपुटी लिडरको रुपमा मुल्लाह अब्दुल घानी बरादर रहनेछन् । त्यस्तै अन्य महत्वपूर्ण पदमा रक्षामन्त्री मुल्लाह याकुब हुनेछन् भने मुल्लाह अब्दुल सलाम सेकेण्ड डेपुटीको रुपमा रहनेछन् ।

त्यस्तै गृहमन्त्रीमा सराजुद्दिन हक्कानी रहेका छन् । उनी हक्कानी नेटवर्क नामक चरमपन्थी संगठनको प्रमुख पनि हुन् । उनी अमेरिकाको एफबीआईको वान्टेडको सूचीमा छन् । अमेरिकाले हक्कानी नेटवर्कलाई पनि आतंकवादी संगठन मान्दै आएको छ ।

तालिबानका प्रवक्ता मुजाहिदले अहिले गठन गरिएको सरकार अन्तरिम सरकार रहेको बताएका छन् । उनले अबको केही समयमा पूर्ण सरकार पनि गठन हुने बताएका छन् । यद्यपि अहिले यो सरकार अफगानिस्तानको कार्यकारी सरकार हुनेछ ।

यसअघि तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गरिने बताए पनि मंगलबार घोषणा गरेपछि नयाँ अनुहारलाई भने अहिले घोषणा गरिएको सरकारमा समावेश गरिएको छैन ।

Loading...