अस्पतालहरुमा भ्रम फैलाएर बिरामीलाई दुःख दिने १० विचौलिया पक्राउ

काठमाडौँ । प्रहरीले विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचारका लागि आउने बिरामीहरुलाई भ्रम फैलाई दुःख दिने १० विचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा श्रीराम चौधरी, सूर्य नारायण यादव, मो.जलिद, विश्वास मण्डल, रोशन गुप्ता, सुजित यादव, फिरोज रोय, समिर खान, सरोज खान र अमित यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले उपचारका लागि आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी “यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन” भन्ने जस्ता अफवाह फैलाई झुक्याउने तथा आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने गरेको पाइएको हो ।

यस्ता किसिमका ब्यवहारबाट अन्य कोही पनि पीडित भएको भए सम्पर्क गर्न समेत जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

Loading...