एमसीसी परियोजनाबारे सरकारले जवाफ दिनु पर्छ : अध्यक्ष ओली

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अमेरिकी सहयोगको एमसीसी परियोजनाबारे सरकारको जवाफ खोजेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई लोकतान्त्रिक भन्न नसकिने बताएका छन् ।

मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

‘एमसीसी गर्नुभएको थियो तपाईंहरूले । एमसीसीबारे साझा न्युनतम कार्यक्रममा केही छैन । एमसीसी बिर्सिनुभो क्या हो ? मैले त देखिनँ कतै,’ ओलीले भने, ‘जनताले जान्न चाहेका छन् – के गर्नुहुन्छ एमसीसी ? तपाईंको बहुमतको सबल जत्थाले के भन्छ ? एमसीसी पास गर्ने कि फेल गर्ने ?’

वर्तमान सरकारले आउने बित्तिकै पहिल्यै भूमिहीन सुकुम्बासीमाथि बन्चरो चलाएको आरोप लगाउदै उनले वर्तमान सरकार कुनै संघर्षबाट नआएको दाबी गर्दै भने ‘अलोकतान्त्रिक विधिबाट आएको सरकार हो यो । यो सरकार संवैधानिक र लोकतान्त्रिक भन्न सकिँदैन। ’

अध्यक्ष ओलीले नेकपा माओवादीको लडाकु शिविरभित्र भएको भनिएको भ्रष्टाचारको कुरा संसदमै उप्काएका छन् । उनले गठबन्धन सरकारले शिविरको भ्रष्टाचारको छिनोफानो गर्नुपर्ने बताए ।

आफ्नो सरकारले गरेका राम्रा कामलाइ अगाडि बढाउन अध्यक्ष ओलीले अहिलेको सरकारलाई आग्रह गरे । पुरानो सरकारले कहिँ कतै कुनै सहमति गरेको छ भने पछाडि आउने सरकारले त्यसलाई कार्यन्वयन गरि अगाडि बढाउनुपर्ने भन्दै उपलब्धिलाई कदर गर्नुपर्ने धारणा राखे ।

Loading...