‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमालाई थप बढाएको छ – मेयर शाक्य

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमालाई थप बढाएको बताउनु भएको छ । आज वडा नम्बर–५ को हाँडीगाउँमा नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्वोधन गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताउनु भएको हो । ‘धरहराबाट सरकारले मास्क अभियान थालेको छ, यो सकारात्मक हो,’ शाक्यले भन्नुभयो, ‘धरहरा निर्माण भएपछि त्यसको गरिमा थप बढेको छ । धरहराको महत्व महानगरवासीले मात्रै होइन सिङ्गो देशवासी र विदेशीहरुले पनि थाहा पाए ।’ सरकारले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ शनिबार साँझ धरहरामा ‘म जिम्मवार नागरिक’ ह्यासट्याग लेखेर अभियानको प्रचार सुरु गरेको थियो ।
उहाँले आफूले चुनावका बेला गरेका प्रतिवद्धता पूरा गर्दै आएको स्मरण गराउनुभयो । ‘धरहरा हाम्रै कार्यकालमा बनाउने भनेका थियौँ । धरहरा बनिसकेको छ, पार्किङलगायतको काम बाँकी छ । रानीपोखरी पुर्ननिर्माण गर्छौ भनेका थियौँ । त्यो बन्यो । ऐतिहासिक कमलपोखरी पनि पुर्ननिर्माण सम्पन्न हुने चरणमा छ ।’
कमलपोखरी पुननिर्माण सम्पन्न भएपछि रानीपोखरी भन्दा सुन्दर देखिने पनि उहाँले बताउनुभयो । ‘रानीपोखरी भन्दा कम हुनेछैन कमलपोखरी,’ उहाँले भन्नुभयो, ‘त्यहाँको प्रहरी कार्यालय मालिगाउँमा सारेपछि करीब पाँच रोपनी जग्गा थपिएको छ । थपिएको जग्गासहितको पहिलो चरणको कमलपोखरी पुर्ननिर्माणको काम सम्पन्न हुने चरणमा छ ।’
उहाँले केही दिन अघि बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा लागेको आगो नियन्त्रणमा हेलिकोप्टरले रानीपोखरीको पानी प्रयोग गरेको स्मरण गराउँदै शहरका बिचका त्यस्ता पोखरीहरुको महत्व थप बढेको बताउनुभयो । ‘बालाजुको नेविको विष्कुट कारखानामा आगलागी हुँदा दमकलले त आगो निभाउँदै थियो । हेलिकोप्टरबाट पनि पानी हालेर आगो निभाउने काम भयो,’ उहाँले भन्नुभयो, ‘हाम्रो कार्यकालमा रानीपोखरी बनाउन नसकेको भए त्यहाँको आगो नियन्त्रणमा ल्याउन थप केही घण्टा लाग्न सक्थ्यो कि ? त्यसैले यस्ता पोखरीहरुको महत्व थप बढ्दै गएको छ ।’
उहाँले रानीपोखरी, कमलपोखरी, नागपोखरीलगायतका पोखरी जस्ता ऐतिहकि सम्पदाको संरक्षण र सौदर्यीकरण गर्ने अभियानलाई निरन्तरता दिने बताउनुभयो ।

Loading...