काठमाडौँ महानगरको १ करोड ४८ लाख अनुदानमा नरबुद्धपार्कको शिलान्यास

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लिएको एक वडा एक पार्कको नीति अनुसार १ करोड ४८ लाख अनुदानमा नरबुद्धपार्कको शिलान्यास भएको छ। महानगरपालिकाको ५ वडा हाँडीगाउँमा आज महानगरका प्रमुख बिद्या सुन्दर शाक्य तथा उप प्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले संयुक्त रुपमा नरबुद्धपार्कको शिलान्यास गर्नु भएको हो।

प्रमुख शाक्यले काठमाडौँ महानगरपालिले अहिलेसम्म साना–ठूला गरी करीब ७० वटा पार्क निर्माणको काम अघि बढाएको बताउनुभयो । ‘काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्दै पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको छ,’ शाक्यले भन्नुभयो, ‘अहिलेसम्म करीब ७० वटा पार्क निर्माणको काम अघि बढेको छ । कुनै ठूला वडा छन्, कुनै साना वडा छन् कुनै सार्वजनिक जग्गा नभएका वडा पनि छन् । सार्वजनिक जग्गा धेरै भएका वडा पनि छन् । कुनै वडामा १०–१२ वटा पार्क पनि बनेका छन् । कुनै वडामा एउटा मात्रै भए पनि बनेको छ ।’
उहाँले पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको स्मरण गराउनुभयो । ‘पार्क निर्माणसँगै हामीले सम्पदा निर्माण, पुननिर्माणको अभियानलाई पनि प्राथमिकतामा राखेको छौँ,’ उहाँले भन्नुभयो, ‘बनाउने जिम्मा हामी लिन्छौँ, त्यसको व्यवस्थापन स्थानीयले गर्ने हो । हामी काठमाडौँ महानगरलाई सुन्दर बनाउने अभियानमा छौँ ।’

 

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौँ महानगरपालिका पार्क निर्माण र हरियाली कायम गर्ने अभियानमा निरन्तर रहेको बताउनुभयो । वडाध्यक्ष रमेश डंगोलले भूमाफियाहरुले कब्जा गर्न आँटेको जग्गाको संरक्षण गर्दै पार्क निर्माणको काम अघि बढाउन पाउँदा खुशी लागेको बताउनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै वागमती प्रदेशका सांसद नारायण सिलवाले हाँडीगाउँदेखि कपन निलोपुलसम्मको क्षेत्रलाई पार्क हबको रुपमा विकास गर्ने योजनामा रहेको बताउनुभयो ।

कार्यक्रमलाई नरबुद्ध विहारका प्रमुख भिक्षु पुुण्ण स्थविर भन्ते पञ्जारत्न स्थविरलगायतले पनि सम्वोधन गर्नुभएको थियो ।

करीब सात रोपनी क्षेत्रफलमा निर्माण हुन सो पार्कको लागत १ करोड ४८ लाख रहेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । पार्कमा कलात्मक डिजाइनका साना–ठूला गरी चारवटा ढोका रहने छन् भने आराम गर्नका लागि चौतारीसहितको छहारी रहने छ । त्यसैगरी विश्रामका लागि झिँगटीका छाना भएका चौतारहरु पनि रहने छन् ।
पार्कमा हरियालीका लागि दुबोसहितका मैदान रहने भने १५ फिट गोलाइको फाउण्टेनसहितको पोखरी रहने छ । व्यायम र हिँडडुलका लागि बाटो र खुला ठाउँको समेत पार्क डिजाइनमा व्यवस्था गरिएको छ । वृद्धवृद्धा र अपाङ्गमैत्री पार्कमा अभय मुद्राको बुद्धको मुर्तिसमेत राख्ने योजना रहेको छ ।

Loading...