विश्वका सबैभन्दा धनी व्यक्ति बेजोस आफ्नै रकेटबाट अन्तरिक्षमा

काठमाडौं । विश्वमा धनाढ्यहरुबीच अन्तरिक्ष जाने होड चलेको देखिएको छ। झन्डै दुईहप्ता अगाडि बेलायती अर्बपति रिचर्ड ब्रान्सन आफ्नै यानमा चढेर अन्तरिक्ष यात्रा गर्ने पहिलो व्यक्ति बनेका थिए।

७१ वर्षीय ब्रान्सन अमेरिकाको न्यु मेक्सिकोबाट आफ्नै कम्पनी भर्जिन ग्यालेक्टिक निर्मित यानमार्फत अन्तरिक्षमा पुगेका थिए।

सो यान पृथ्वीबाट ८८ किलोमिटर उचाइमा पुगेको थियो। ब्रान्सनसहित पाँच चालकदलका सदस्यले करिब तीनचार मिनेट गुरुत्वशून्यताको अनुभव गरेका थिए।

ब्रान्सनपछि यतिबेला विश्वकै धनी व्यक्ति जेफ बेजोस आज मंगलबार आफ्नै कम्पनी ब्लु ओरिजिनको यानमा अन्तरीक्षतर्फ जाँदैछन्।

बेजोससँग उनका भाई मार्क बेजोस, ८२ वर्षकी अन्तरिक्ष यात्री वाली फंन्क र १८ वर्षका विद्यार्थी अन्तरिक्ष जानेछन्।

बेजोसले सीबीएस न्युजसँग भनेका छन्,‘म उत्साहित छु। मानिसहरु के म अत्तालिएको छु भनेर सोधिरहेका छन्। म अत्तालिएको छैन बरु जिज्ञासु भएको छु। म मैले के देख्छु र सिक्छु त्यो जान्न चाहन्छु।’

‘हामीले प्रशिक्षण पाइसकेका छौं। हाम्रो यान तयार छ, क्रु तयार छ। हाम्रो टिम रोमान्चक छ। हामी खुशी छौं’ उने भनेका छन्।

१०६ किलोमिटर माथिसम्म रकेट क्याप्सुल पुग्नेछ। जहाँ उनीहरुले चार मिनेटसम्म गुरुत्वशून्यताको महसुस गर्नेछन्।

रकेट बुस्टर ७६ किलोमिटर माथि पुगेपछि क्याप्सुलसँग छुट्नेछ र पृथ्वीमा अवतरण गर्नेछ। रकेट क्याम्पसुल भने पृथ्वीको सतह भित्र प्रवेश गरेसँगै प्यारासुटबाट मरुभूमिमा अवतरण हुनेछ। बीबीसी

Loading...