काठमाडौँ महाननगरपालिकाको आर्थिक सहयोगमा छाउनी अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु

 

काठमाडौँ । वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा श्री वीरेन्द्र अस्पताल छाउनीमा यो सेवा सुरु भएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापले आज संयुक्तरुपमा निःशुल्क हेमोडाइलाइसिस सेवाको शुभारम्भ गर्नुभयो । काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै अस्पताल सञ्चालन गर्ने उल्लेख भए बमोजिम विशेषज्ञ सेवा भएका सहकार्य गरेको मेयर शाक्यले बताउनु भयो। 

काठमाडौं महानगरपालिकाले अनुदान स्वरुप दिएको रु ३ करोड रुपैयाँ बाट हेमोडायलाइसिसका लागि आवश्यक भौतिक पूर्वाधार, आठ ओटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
महानगरपालिका र अस्पतालबीच वि.सं. २०७६ पुस २ गते उक्त सेवा सञ्चालन गर्ने सम्बन्धमा पाँच वर्षका लागि सम्झौता भएको थियो । सम्झौता अनुसार जडान गरिएका आठ वटा हेमोडायलाइसिस मेसिनबाट रहेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिने अस्पतालले जानकारी दिएको छ । ‘तत्कालका लागि ४८ जना विरामीलाई साताको दुई पटक सेवा प्रदान सकिन्छ,’ अस्पतालका प्रमुख सहायक रथि डाक्टर अरुण शर्माले भन्नुभयो, ‘आजबाट शुरु भएको यो सेवा काठमाडौं महानगरवासीहरूले आफू सम्बद्ध वडा कार्यालयवाट विपन्नकाे सेराेनेगेटिभ दिर्घ चरणकाे मृगौला राेगी (क्राेनिक किड्नी डिजिज स्टेज-५ पुगिसकेकाे) लाई सिफारपछि आजैदेखि प्राप्त गर्न सक्नुहुनेछ ।’ यो सेवा प्रदान गर्नका लागि अस्पतालमा छुट्टै युनिट निर्माण गरिएको पनि उहाँले जानकारी दिनुभयो । ‘यो सेवा सञ्चालनका लागि महानगरपालिकाले एक जना एमबीबीएस डाक्टर, तीन जना स्टाफ नर्स, एक जना हेमोडायलाइसिस प्राविधिक, एक जना अधिकारी र एक जना सफाई कर्मचारी गरी जम्मा सात जना जनशक्तिको लागि तलब खर्च व्यहोर्ने पनि सहमति भएको छ,’ उहाँले भन्नुभयो, ‘मिर्गौलाले काम नगरेको अवस्थामा शरीरमा जम्मा भएको दुषित पदार्थहरु शरीरबाट बाहिर निकाली स्वस्थ बनाउने विधिलाई डायलाईसिस भनिन्छ । अब यो सेवा सुरुसँगै त्यस्ता विरामीलाई उपचारमा सहज हुने अपेक्षा गरेका छौँ ।’ डाक्टर शर्माका अनुसार हाल देशभरिका ६५ वटा अस्पतालहरूमा चालु रहेका ४ सय ९८ वटा डायलासिस मेसिनबाट ३ हजार ५ सय १६ जना विपन्न वर्गका विरामीहरूले निःशुल्क हेमोडायलाइसिस सेवा प्राप्त गरिरहेका छन् । निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रति विरामी वार्षिक २ लाख ६० हजार रुपैयाँ खर्च व्यहोरिरहेको छ । नेपालमा हरेक वर्ष २ हजार ६ सय जना मिर्गौलाका नयाँ विरामीहरू थपिरहेको सरकारी तथ्यांक छ ।

Loading...