कर्णालीका ४ सांसदहरुलाई कारवाही नगर्न सर्वोच्चले जारी गरेको अन्तरिम आदेशविरुद्ध नेकपा एमालेले दियो पुनरावलोकन निवेदन

 

काठमाडौँ । कर्णाली प्रदेशका ४ सांसदहरुलाई कारवाही नगर्न सर्वोच्चले जारी गरेको अन्तरिम आदेशविरुद्ध नेकपा एमालेले पुनरावलोकन निवेदन दर्ता गराएको छ।

आइतबार सर्वोच्चमा पुनरावलोकनका लागि दर्ता भएको सो निवेदनको सुनुवाई मंगलबार तोकिएको छ ।

एमालेका प्रदेश सभा सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापाले कर्णालीमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई जोगाउन वैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।

‘फ्लोर क्रस’ गरेका चार संसदहरुलाइ एमालेले सांसद पद खोसेपछि उनीहरु चार सर्वोच्च पुगेका थिए । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले जेठ २७ गते कर्णालीका सांसदहरु माथि एमालेले गरेको कारबाही मान्य नहुने आदेश दिएका थिए ।

एमालेमा अहिले केन्द्रीय कमिटी नभई महाधिवेशन आयोजक कमिटी रहेकाले महाधिवेशन आयोजक कमिटीले यस्तो कारबाही गर्न नमिल्ने सर्वोच्चको उक्त आदेशमा उल्लेख थियो।

Loading...