काठमाडौँ। चाइनीज संस्था चाइना फाउन्डेसन फोर पभर्टि एलिभिएसनले निम्न आय भएका परिवारको लागि सहयोग प्रदान गरेको छ ।
नेपालमा हाल निषेधाज्ञा जारी रहँदा फाउन्डेसनले बिहिबार गोकर्णेश्वर नगरपालिकाका ४२७ जना विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको हो ।
फाउन्डेसनले सफा सुनौलो नेपालसँगको सहकार्यमा आपतकालीन समुदाय खाद्यान्न वितरण कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको हो ।
निषेधाज्ञाबाट प्रभावित भई समस्यामा परेका वागमती प्रदेशका विभिन्न चार वटा विद्यालयका ४२७ जना विद्यार्थीलाई दैनिक उपभोग्य खाद्यान्न प्रदान गरिएको हो ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ स्थित श्री खगेन्द्र माध्यामिक विद्यालय नारायणटारमा सम्पन्न कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो । विद्यार्थीहरुलाई दाल, चामल, तेल लगायतका दैनिक उपभोग्य खाद्य सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले चाइनाबाट पाएको सहयोगले वर्तमान परिस्थितीमा महामारी नियन्त्रणका लागि अझ सशक्त ढङ्गले अघि बढ्न उत्साह दिएको बताउनुभयो ।
त्यस्तै गोकर्णेश्वर वडा नम्बर ६ का वडाध्यक्ष रमेश अर्यालले सबैलाई संयमित भई धैर्यताका साथ बसेर संक्रमण नियन्त्रणमा सहयोग गर्न आग्रह गर्नुभयो ।
फाउन्डेसनका नेपाल निर्देशक झाउ छियाङले नेपालको विभिन्न क्षेत्रमा निम्न आय भएका एक लाख बढि परिवारलाई सहयोग गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो । निम्न आय भएका र दैनिक ज्याला मजदुरी गरी जीविका चलाउनुपर्ने परिवारलाई सहयोग गर्ने उद्देश्यसहित कार्यक्रम संचालन गरिएको झाउले बताउनुभयो ।
फाउन्डेसनले नेपालमा संक्रमणको पहिलो लहरमा पनि वागमती प्रदेशको साथै प्रदेश २ का विभिन्न स्थानमा विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको थियो । त्यस्तै विभिन्न अस्पताल तथा आइसोलेसनमा पनि विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गर्दै आएको छ ।