संसद बिघटन , मध्यावधि चुनाव कात्तिक २६ र मंसिर ३ मा

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गर्नुभएको छ । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गर्नु भएको हो। संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुवै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गर्नु भएको थियो ।