पाँच लाख धरौटीमा अख्तियार पूर्वप्रमुख आयुक्त बस्न्यातलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ।

बालुवाटारस्थीत ललिता निवास क्याम्पको जग्गा अतिक्रमणको मुद्दामा जेलमा रहँदै आएका बस्न्यातलाई पाँच लाख धरौटी लिएर रिहा गर्न सर्वोच्चले आदेश दिएको हो।

न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो । बस्न्यातले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला ललिता निवासको जग्गाको जग्गा अतिक्रमणमा संलग्न रहेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रमुख आयुक्त बस्न्यात विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो। उनी थुना बाहिरै बसेर मुद्दा लड्न माग गर्दै सर्वोच्च अदालत गए पनि उनको माग सुनुवाइ भएको थिएन।

यसपछि उनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। बस्न्यातको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र कृष्णप्रसाद सापकोटाले बहस गरेका थिए भने सरकारको तर्फबाट उपन्यायधीवक्ता दशरथ पंगेनीले वहस गरेका थिए।

Loading...