कोरोना संक्रमितलाई नायक पल शाहले अक्सिजन वितरण गर्ने

काठमाडौँ ।  गत वर्ष लकडाउनको समयमा रोजीरोटी गुमेर हातमुख जोर्न समस्या भएका प्राविधिकहरुलाई ५ लाख बराबरको खाद्यन्न सहयोग गरेर रियल लाइफमा पनि हिरो बनेका पल शाहले अब कोरोना संक्रमितका लागि अक्सिजन ग्यास वितरण गर्ने भएका छन् । कोरोना संक्रमण बढेका कारण अक्सिजनका सिलिन्डर अभाव भएको खबर सुनेपछि उनले यो अभियान सुरु गर्न लागेका हुन् ।

अहिले अक्सिजनका सिलिन्डर संकलनको काम भइरहेको र केही दिनमै निःशुल्क अस्पताललाई हस्तान्तरण गर्ने उनले बताए । ‘हाम्रो टिम नेपाल’ सँगको सहकार्यमा आर्थिक अभावका कारण अस्पतालमा छट्पटाइरहेका कोरोना संक्रमितका लागि अक्सिजन सहयोग गर्न लागेको पलको भनाई छ । अक्सिजनका सिलिन्डर संकलनसँगै किन्ने योजना पनि बनाइएको उनले बताए ।

पल बुधवार (भोली) बाट अक्सिजनका सिलिन्डर खोज्न आफैं फिल्डमा खटिने तयारीमा छन् । अस्पतालहरूसँग समन्वय गरेर २/३ दिनमा अक्सिजन सिलिन्डर वितरण गरिने उनको भनाई छ । उनी कोरोनाका कारण विहान बेलुका हातमुख जोर्न समस्या भएका व्यक्तिहरुलाई पनि सहयोग गर्दैछन् । केही दिनमा खाद्यन्न लिएर बागलुङको एउटा गाउँमा जाने तयारी भएको उनले बताए ।

भारतमा कोरोना संक्रमितको उपचारका लागि बलिउडका कलाकारहरुले विभिन्न अभियान चलाएका छन् । तर, नेपालमा कोरोना संक्रमण दर बढिरहेको अवस्थामा नेपाली कलाकारहरु भने सहयोगका लागि खासै अगाडि आएका छैनन् । फिल्म रिलिजको समयमा दर्शकलाई भगवानको स्थान दिने कलाकारहरु तिनै दर्शकलाई गाह्रो हुँदा मौन बस्नु दुःखद रहेको कतिपयको टिप्पणी छ ।

Loading...