काठमाडौँ । दसाैँ साताको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ । यो प्रतियोगिता साप्ताहिक रूपमा सञ्चालन हुन्छ ।
पुनः बढेकाे काेराेना सङ्क्रमण र राेकथामका लागि जारी गरिएकाे निषेधआज्ञालाई ध्यानमा राखेर याे साताकाे लागि लकडाउन र जनजीवनलाई विषय बनाइएको छ । यस चरणमा प्रतियोगी कथाकारहरूले काेराेनाले ल्याएकाे आतङ्क, सरकारले जारी गरेकाे निषेधआज्ञा तथा यसले जनजीवनमा पारेकाे प्रभावलाई लघुकथाकाे कथानक बनाउनुपर्ने छ ।
एकपटक पुरस्कृत भइसक्नुभएका कथाकारहरूले यस प्रतियोगितामा पुनः सहभागिता जनाउने पाउनेहुने छैन । तर “अप्रतियोगी”का रूपमा आफ्नाे सिर्जनाकाे माथिपट्टि “अप्रतियोगी लघुकथा” लेखेर भने आफ्नाे कथा पाेस्ट गर्न सक्नुहुने छ ।
लघुकथामा रुची भएका साहित्यकारहरुले लकडाउन र जनजीवनसँग सम्बन्धित आफ्ना लघुकथाहरुलाई तलको कमेन्ट बक्समा राख्नुपर्ने छ । तीमध्ये सर्वोत्कृष्ट तीन लघुकथाहरु छानिने छन् । हरेक साता छानिने ती उत्कृष्ट कथाहरुलाई आगामी वर्ष वर्षका उत्कृष्ट लघुकथाका रुपमा प्रकाशन गरिनेछ ।
चयन गरिएका ती कथाका स्रष्टाहरुलाई हरेक साता १० वटा लघुकथाका सिद्धान्तका पुस्तक र नेपाली साहित्यका चर्चित लघुकथासङ्ग्रह पुरस्कारका रुपमा वितरण गरिनेछ ।
वर्षका अन्त्यमा ती कथाहरुलाई कृतिका रुपमा घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ । अन्त्यमा कृतिमा परेका १ सय ५० लघुकथाहरुमध्येबाट ३ वटा सर्वोत्कृष्ट कथाहरु छानिनेछ । ती स्रष्टाहरुलाई नगद ३० हजार, २० हजार र १० हजारका साथमा १०–१० थान चर्चित आख्यानका कृति पनि उपहार दिइनेछ ।
दसाैँ साताका लागि प्रमुख निर्णायकमा कथाकार सुमन साैरभ रहनुभएकाे छ । नेपाली लघुकथामा ५० को दशकलाई सकृय काल मानिन्छ, यही दशकदेखि लघुकथाकार सुमन सौरभले आफ्नो दरिलो उपस्थिति लघुकथामा बनाउनुभएकाे हाे । उहाँ प्रयोगवादी र स्वैरकल्पनावादी लघुकथाकार हुनुहुन्छ । हालसम्म उहाँका ५ वटा लघुकथासङ्ग्रहहरू प्रकाशित छन् । लघुकथा समाज, नेपालका कोषाध्यक्ष रहनुभएका सौरभ साहित्यमा लघुकथा मात्र लेख्न रुचाउनुहुन्छ ।
दोस्रा निर्णायकमा लघुकथा समाजका अध्यक्ष तथा गोरखापत्रका पूर्व प्रधानसम्पादक श्रीओम श्रेष्ठ रोदन रहनुभएको छ । नेपाली लघुकथाकारहरुलाई गोलबद्ध गर्ने काममा लाग्नुभएका श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानसँग मिलेर लघुकथाको नियमलाई व्यवस्थित बनाउनेमध्ये पर्नुहुन्छ । उहाँका दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
अर्का निर्णायकमा साहित्यपोस्टका लघुकथा सम्पादक दीपक लोहनी रहनुभएकाे छ । साहित्यपोस्टमार्फत् लघुकथासम्बन्धी खोज अनुसन्धान गरिरहनुभएका दीपक दुई दशकयता साहित्यिक पत्रकारितामा सक्रिय हुनुहुन्छ । लोहनीका लघुकथासहित केही पुस्तकहरु प्रकाशित छन् ।
प्रतियोगिताको प्रायोजन घोस्ट राइटिङ् नेपालले गरेको हो । साहित्यलाई व्यवसायिक बनाउने हेतुले सुरु भएको घोस्ट राइटिङ् प्रा.लिले हालसम्म झण्डै दुई सय पुस्तक प्रकाशन गरिसकेको छ । उक्त संस्थाले नेपाली साहित्य पढ्न चाहनेहरुका लागि सिर्जनात्मक कक्षाहरु पनि सञ्चालन गरिरहेको छ ।
प्रतियोगितामा भाग लिनका लागि निम्न कुराहरुलाई ध्यान दिइनुपर्ने बताइएको छः
क) यो खुलाप्रतियोगिता हो । प्रतियोगितामा सामेल भएका लघुकथा नेपाली भाषामा लेखिएको हुनु पर्नेछ । यसमा सबै वर्ग, क्षेत्र र उमेरका साहित्यकारहरुले भाग लिन पाउनु हुनेछ । कथालाई तल कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।
ख) यसपटकको लघुकथाको विषय लकडाउन र जनजीवन रहेको छ । प्राप्त लघुकथाहरु शीर्षक फरक फरक भए पनि कथाले कुनै न कुनै रूपमा नयाँ वर्षले ल्याउने उमङ्गलाई छोएको हुनुपर्नेछ ।
ग) लघुकथा बढीमा २ सय ५० शब्दको हुनुपर्नेछ । त्यसभन्दा लामो कथा पोस्ट भए पनि त्यसलाई प्रतियोगी कथाका रुमपा सामेल गरिने छैन ।
घ) लघुकथा पूर्वप्रकाशित भए पनि फरक पर्दैन । तर यसअघि प्रतिस्पर्धामा पुरस्कृत कथालाई पुनःप्रतियोगितामा सामेल गर्न पाइने छैन ।
ङ) लघुकथा मौलिक हुनुपर्नेछ । कुनै लेखकले आफ्नो कथा चोरिएको दाबी गरेमा र त्यो प्रमाणित भएमा पुरस्कार रद्द गरिनेछ ।
च) कुनै स्रष्टाले आफ्नो लघुकथालाई प्रतिस्पर्धामा सामेल गराउन नचाहेमा त्यसको माथि स्पष्टरुपमा अप्रतियोगी लघुकथा लेखेर पोस्ट गर्नुपर्नेछ । अप्रतियोगी लेखिएका कथालाई प्रतियोगितामा सामेल गरिने छैन ।
छ) यो प्रतियोगिताको समय अहिलेदेखि सुरु भएर वैशाख २९ गते (बुधबार) राति ११ बजेर ५९ मिनेटसम्म कायम रहनेछ । त्यसपछि पोस्ट गरिएको कथालाई मान्यता दिइने छैन ।