निषेधाज्ञामा उपत्यकाको सडकमा सुरक्षा चेकजाँच स्थलमा ट्राफिक जाम , सुरक्षाकर्मीहरू नै आश्चर्य चकित

काठमाडौँ। उपत्यकामा कोभिड–१९ महामारीको सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि निषेधाज्ञा जारी भएको सोमबार पाँचौँ दिन भएको छ । निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाको विभिन्न सडक चोक तथा सुरक्षा चेकजाँच स्थलमा ट्राफिक जाम’ देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन् ।

आइतबारबाट निषेधाज्ञा थप कडाइको निर्णय भए पनि सडकमा सवारीसाधनको चाप घटेको देखिदैन ।

अत्यावश्यक कामका लागि सवारी पास लिएका भन्दा आफूखुसी सवारीसाधन चलाउनेको सङ्ख्या बढेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी कारबाहीको सङ्ख्या करिब दुई हजार पुगेको छ । काठमाडौँ उपत्यकाको चाबहिल, कोटेश्वर, बल्खु, बानेश्वर, भद्रकाली, न्युरोड गेट, केशरमहल र कलङ्कीलगायतका क्षेत्रमा बिहानको समयमा ट्राफिक जाम हुने गरेको छ । जामका कारण सुरक्षाकर्मीलाई समेत अत्यावश्यक सवारीसाधन हो वा होइन, पहिचान गर्न समस्या देखिएको छ ।

यसैबीच काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञामा अत्यावश्यकबाहेकका अन्य सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने विषयमा छलफल भइरहेको बताए ।

 

        आजको गोरखापत्र  दैनिकमा यो समाचार छ ।

Loading...