काठमाडौँ महानगरको ६१ औँ कार्यपालिका बैठकमा कोविड अस्पताल बनाउन जोड

 काठमाडौँ महानगर पालिकाको कार्यपालिका बैठकमा कोविड १९ बाट संक्रमितहरुको उपचारका लागि ‘कोविड अस्पताल’ सञ्चालनमा जोड दिँदै सम्पन्न भएको छ । महानरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६१ औँ कार्यपालिका बैठकमा ‘कोविड १९ महामारी व्यवस्थापन’ सम्बन्धमा राखिएको प्रस्तावमा छलफल गर्दै कोविड अस्पताल सञ्चालनमा जोड दिइएको हो । बैठकले सुविधा सम्पन्न आइसोलेसन र कोविड अस्पतालको उपयुक्त विकल्पसहितको प्रस्ताव पेश गर्न वडा ३ का अध्यक्ष दीपक के. सी. को संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा वडा ६ का अध्यक्ष दिपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, ३० का अध्यक्ष दलबहादुर कार्की, ३१ का अध्यक्ष नारायण भण्डारी हुनुहुन्छ ।

शंका भएका व्यक्तिलाई जाँच गराएर क्वारेन्टीनमा बस्न प्रोत्साहित गर्नुपर्ने, पर्याप्त आइसोलेसन वार्डहरु तयार गरिनुपर्ने र महानगर आफैँले कोविडको अस्पताल नै बनाउनु पर्नेमा मेयर शाक्यले जोड दिनु भयो । उहाले क्वारेन्टीन निर्माण गर्ने, आइसोलेसन बनाउने र आवश्यकताका आधारमा अस्पतालसम्म बनाउने प्रयोजनका लागि महानगरभित्रका होटल, पार्टी प्यालेस, स्थापना भएर चलेका र नचलेका केही अस्पतालहरुको अवलोकन गर्ने बताउनु भयो।

सो क्रममा वडाध्यक्षहरु दलबहादुर कार्की, नीलकाजी शाक्य, शुद्धकुमार डंगोल, दिपेन्द्र लामा र दिपक के. सी. ले महानगरमारी व्यवस्थापन गर्न वडा तहबाट कठिन हुँदै गएको धारणा राख्नुभएको थियो । खण्ड—खण्डमाभन्दा दिगो प्रभाव हुने गरी एकै पटक योजना छनौट गर्नु पर्ने सुझाव दिँदै तहगत संरचनामा १ सय वेडभन्दा माथिका अस्पताल प्रदेश र संघ सरकारले सञ्चालन गर्ने भएको र महानगरभित्र यस्ता धेरै अस्पताल भएकोले निर्णयमा पुग्न कठिन भएको विगत अभ्यासबाट सिकाइ गर्नुपर्ने सुझाव राख्नुभएको थियो ।
आजको बैठकले, ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) स्थानीय समिति गठन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि — २०७८’ र ‘छात्रवृत्ति कार्यविधि — २०७८’ तर्जुमा गर्न सहमति दिएको छ ।
यस्तै छत्रपाटी निःशुल्क चिकित्सालय र ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको भवन नक्सा पास दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ ।

Loading...