काठमाडौँ। दोस्रो चरणमा फैलिरहेको कोभिड -१९ (कोरोना) भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाईरस रोकथाम तथा सुरक्षित बनाउनको लागि जनचेतनामूलक अभियान थालेको छ ।
महाशाखाले आज पुरानो बसपार्क बाट “ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना , “ सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौँ ” लेखिएको स्टिँकर टाँसी उक्त अभियान थालनी गरिएको हो ।
ट्राफिक महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले कोभिड १९ बाट यातायात क्षेत्र उच्च जोखिममा रहेकोले वेलैमा सुरक्षाका सावधानी अपनाएर मात्र चलायमान गराउनुपर्ने उहाँले जोड दिनुभयो ।
सो कार्यक्रममा उपस्थित यातायात व्यवसायीहरू, मजदुर संघ/युनियनका पदाधिकारीहरू, ट्राफिक प्रहरीका उच्च अधिकृत तथा जवानहरूद्धारा सवारी साधनहरूमा यात्रुले देखिने गरी सवारीको ढोका नजिक स्टिँकर टाँस गर्नुका साथै पैदलयात्री, सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्क समेत वितरण गरिएको थियो ।
यसै गरि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई कोरोना भाइरसबाट कसरी सुरक्षित रहने भन्ने सम्बन्मा आ-आफ्नो विचार राख्नु भएको थियो । आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम गर्न ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्न तत्पर रहेको उहाँहरूले उल्लेख गर्नुभयो ।
सम्पूर्ण चालक सहचालक तथा यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाई भौतिक दुरू कायम गरी सवारी साधनको प्रयोग गर्नुहुन महाशाखाले विशेष अनुरोध गरेको छ ।
कोरोना भाईरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउन महाशाखाले विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ ।