सम्पदा निर्माण–पुननिर्माणको कार्य सम्पन्न गरेर विदा हुन्छु

   

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पदा निर्माण–पुननिर्माणको कार्य सम्पन्न गरेर विदा हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौँ) पाठ्यक्रम निर्माण गरी आधारभूतमा पठन–पाठनको सुरुवात गराउने साहसिक कामको थालनी गरेको र त्यसको नेतृत्व प्रमुख शाक्यले गरेको भन्दै नेवाः देय् दबू काठमाडौँ जिल्ला समितिले गरेको सम्मान ग्रहण गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

शाक्यले भन्नुभयो, ‘सम्पदा निर्माण–पुननिर्माणको कार्य कतै छुटेको भए जानकारी दिनुहोस हामी सहयोग गर्न तयार छौँ ।’ शाक्यले पाँच वर्ष भित्रमा सबै सम्पदा निर्माण–पुननिर्माणको काम सम्पन्न गरेर मात्रै विदा हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । ‘कतिपय ठाउँमा गुठिया–गुठियारकै विवाद र पुरातत्वका कारण समस्या भएको छ, ’ शाक्यले भन्नुभयो, ‘राज्यले बनाइदियो भने राज्यले नै लिने हो कि भन्ने मनोविज्ञानका कारण कारण पनि कतिपय ठाउँमा समस्या भएको छ । हामी निर्माण सम्पन्न गरेपछि पहिलादेखि नै जुन गुठियारहरुले जात्रा, चाड–पर्व आफ्नो परम्परा अनुसार जसरी सञ्चालन गरिरहेका छन् उनीहरुलाई नै हस्तान्तरण गर्ने हो । त्यसमा कुनै अलमल नहोस् । बजेटको सुनिश्चितता हामी गर्छौ । संरक्षणको जिम्मा तपाईँहरुको हो ।’ उहाँले काष्ठमाण्डप काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा १८ करोडको लगानीमा निर्माण भैरहेको पनि जानकारी दिनुभयो ।

नेवाः देय् दबू काठमाडौँ जिल्ला समितिका अध्यक्ष मचाराजा महर्जनले काठमाडौँ जिल्ला समितिको तर्फबा मेयर शाक्यलाई काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका कक्षा १ देखि ८ सम्मका विद्यालयमा स्थानीय पाठ्यक्रम मार्फत स्थानीय पहिचान स्थापित गर्ने गरी पठन–पाठन गर्ने साहसिक कदमको अगुवाई गरेको भन्दै त्यसको कदर गरी सम्मान गरेको जानकारी दिनुभयो । उहाँले प्रमुख शाक्यलाई स्थानीय पहिचान मुताविक टोल, सडक, गल्ली र चोकहरुको नामाकरण गर्ने अभियानको समेत अगुवाई गरिदिन आग्रह गरेको जानकारी दिनुभयो ।

Loading...