सिसडोलवासीले फोहर विसर्जनमा अवरोध गरेपछि महानगरले भन्यो ‘ मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेका छौ ’

काठमाडौँ । नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय बासिन्दाले काठमाडौं उपत्यकाको फोहोर–मैला विसर्जनमा गरेको अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले स्थानीयको माग प्रति सकारात्मक भएको बताएको छ ।
चैत १३ देखि अवरुद्ध फोहर ब्यबस्थापनमा अवरोध गरेको प्रति महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले ध्यानाकर्षण भएको बिज्ञप्ति मार्फत जनाएको छ।
ल्याण्डफिल्ड साइटका प्रभावित बासिन्दाले गरेको विभिन्न मागको सम्बन्धमा काठमाडौँ महानगरपालिकाले नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सम्वन्धमा काठमाडौँ महानगरपालिका सकारात्मक अपेक्षा रहेको जनाएको छ ।
विज्ञप्तिमा ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय बासिन्दालाई फोहोरमैला विसर्जन कार्यमा सहयोग गर्न पनि अपील गरिएको छ । फोहोर मैला प्रभावित क्षेत्रका स्थानीय बसिन्दाहरुले चैत १३ गते यता सडकमा विरोध प्रदर्शन गर्दै फोहोर बिसर्जनमा अवरोध गर्दै आएका छन् ।
स्थानीय वासीले उठाएको माग सम्वोधनका लागि सम्वन्धित निकायसँग निरन्तर छलफल जारी रहेको र शिक्षामन्त्रालय पनि सो माग जति सक्दो छिटो सम्वोधन गर्न प्रयासरत रहेको काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुमार श्रेष्ठले भन्नुभयो।

काठमाडौँ महानगरपालिकालगायत उपत्यका १८ वटा नगरपालिकासँग यसअघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने स्थानीयहरुले बताएका छन् ।

उनीहरुले ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दि उपलब्ध गराउने नेपाल सरकारका मुख्य सचिव र स्थानीयसँग भएको सम्झौता र २०७७ कात्तिक ५ गते काठमाडौं महानगरपालिकाको ५२ औं कार्यपालिकाको बैठकबाट भएको निर्णय कार्यान्वयन नभएसम्म सिसडोल साइटमा फोहोर बोकेका गाडि प्रवेश गर्न नदिने बताएका हुन् ।
सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दि उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने लगायतका सम्झौतहरु तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखिएको छ । सरकारसँग पटकपटक सम्झौता हुने तर कार्यान्वयनका लागि चासो नदिने भएपछि आफूहरु आन्दोलनमा उत्रिनुपरेको पनि उनीहरुले बताउदै आएका छन् ।

Loading...