सरकार र विद्रोही नेकपाबीच तीन बुँदे सहमति, प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्वोधन गर्ने

काठमाडौं, २० फागुन । सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ।

सरकार र विप्लव नेतृत्वको नेकपाले गठन गरेका वार्ता टोलीबीच बिहीबार सो सहमति भएको हो। तीन चरणको वार्तापछि सरकार र विद्रोही नेकपाबीच तीन बुँदे सहमति भएको हो । सहमतिपछि दुबै टोलीका संयोजकले हस्ताक्षर गरेको प्रेस नोट जारी गरिएको छ । 

दुई पक्षबीच भएको सहमतिअनुसार विप्लव पक्षले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन्।

सहमतिको विस्तृत विवरण भोलि शुक्रबार दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने वार्ता टोलीले जनाएको छ। सो समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र भूमिगत नेकपाका महासचिव  नेत्रविक्रम चन्द (विप्लव) ले सम्बोधन गर्ने समेत वार्ता टोलीले जनाएको छ।

Loading...